तुलसीपुर, साउन २५ । दाङको ग्वारखोलामा आएको बाढीले बगाउँदा सोमबार आमा छोराको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिस्नेरीकी ३६ बर्षीया अमृता घर्ती र उनका दूई बर्षीय छोरा रुद्र घर्तीको स्थानीय ग्वार खोलामा आएको बाढीले बगाएर सोमबार मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार तीन आमा छोरा अघिल्लो दिन बेचेको कुखुराको पैंशा लिन भनेर तुलसीपुर १९ पतेनी जाने क्रममा सोमबार दिउँसो बगेका थिए ।
स्थानीय ग्वारखोला तर्ने क्रममा त्यसमा आएको बाढीले आमा छोरालाई बगाएको थियो । आमाको शब घटनास्थल भन्दा दूई किलोमिटर दक्षिणमा र छोराको शब एक किलोमिटर दक्षिणमा फेला परेको डिएसपी अर्यालले बताए ।
इप्रका तुलसीपुरका प्रमुख अर्यालका अनुसार घर्तीले आफ्नो जेठो छोरो ६ बर्षीय हर्क घर्तीलाई भने खोलाको किनारमा धकेलेर जोगाएकी थिइन ।
‘आमाले ६ बर्षीय छोरा हर्कलाई भने म तलाई यो बाढीमा जोगाउन सक्दिन भन्दै खोला किनारमा ढकलेको भन्ने खुल्न आएको छ,’ डिएसपी अर्यालले भने ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार आमा छोरा बाढीमा बढेको सूचना पछि सोमबार दिउँसो तुलसीपुरस्थित प्रहरी चौकी बिजौरीस्थित प्रहरी नायब निरिक्षक माधव श्रेष्ठमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले छुट्टा छुट्टै स्थानबाट आमा छोराको शव फेला पारेको थियो । आइतबार रातिदेखि नै जिल्ला र आसपाका क्षेत्रमा ठूलो बर्षा भइरहेको छ ।
