तुलसीपुर, साउन २५ । सामुदायिक वनलाई जीवनसंग जोड्नुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा तुलसीपुरमा सोमबार आयोजित अन्तरक्रिमा लोकतन्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको सामुदायिक वनलाई जनताको जनजीविकासंग जोड्नका लागि वनमा आधारित वन उद्यमहरु संचालन गर्नुपर्ने बक्ताहरुले बताएका छन् ।
सामुदायिक वन समूहको व्यवस्थापन, उपभोक्ता समितिको क्षेमता अभिवृद्धि, सुशासन लगाएतका सवालामा पनि ध्यान दिदै प्राकृतिक स्रोत र साधनलाई उचित रुपमा प्रयोग गर्नुपर्ने बक्ताहरुको धारणा थियो । कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वन, वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले सामुदायिक वनको संरक्षण संगै वनसंग जोडिएका उपभोक्ताको आयआर्जनमा समेत ध्यान दिनुपर्ने बताए ।
सामुदायिक वन उपभोक्ता संघ तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका आर्थिक समितिका संयोजक माधव वली, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, ग्रिन फाउण्डेसन नेपाल दाङका अध्यक्ष विष्णु केसी, ग्रिन फाउण्डेसन नेपाल उद्यम विकाश अधिकृत प्रेम सुवेदी, ग्रिन फाउण्डेसन दाङका सचिव सुरेश रावत, साहयक वन अधिकृत कमल पुन, काष्ठ व्यवसायी मानबहादुर केसी, सूचना अधिकारी बाबुराम न्यौपाने लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।
ग्रिन फाउण्डेसनका उपाध्यक्ष तिलक साहुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको विषय वस्तुमाथि तुलसीपुर उपमहानगरपालिका वन तथा वातावरण अधिकृत ओमकान्त भट्टराईले प्रकास पारेका थिए । कार्यक्रमको सहजिकरण ग्रिन फाउण्डेसनका कार्यक्रम संयोजक तेजराज ओलीले गरेका थिए ।