तुलसीपुर,साउन १८ । महिला बिरुद्ध हुने हिंसा न्यूनिकरणका लागि सचेतना मुलक कार्यक्रमहरु भइ नै रहन्छन । त्यस्ता कार्यक्रमहरु प्रायजसो सहर बजार केन्द्रित हुने गर्छन ।जस्का लागि राज्य र सामाजिक क्षेत्रमा क्रियासिल संघ संस्थाले ठूलो धन राषि खर्चिने गर्छन । तर, महिला हिंसाका घटना भने वर्षौं पिच्छे बढी रहनु चिन्ता र चुनौतिको बिषय बनेको छ ।
नेपालको सन्दर्भमा कुल जन सङ्याको आधाभन्दा बढी हिस्सा ओगटेको भएपनि महिलाहरू आफन्त तथा चिनजानकै मानिसहरुका कारण विभिन्न हिंसाको सिकार भएको तथ्याङ्कले देखाउने गरेको छ ।
तथ्याङ्कलाई आधार मान्ने हो भने अधिकांश महिलाहरु घरेलु हिंसाबाट पीडित छन । महिला पुर्नंस्थापना केन्द्र (ओरेक) दाङको तथ्याङ्कले त्यही तथ्य बोल्छ ।
ओरेक दाङका जिल्ला संयोजक इश्वरी थापाले बितेको आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न खाले १ सय ९ वटा हिंसाका घटनाहरु भएको बताइन ।जसमध्य धेरै घरेलु हिंसा (कुटपिट, गालिगलौज, चारित्रिक आरोप, स्रोत सुविधाबाट बच्चित ) का घटनाहरु ७५ वटा छन । यद्यपी गत वर्षको तुलनामा यो संख्या कम भएको थापाले जानकारी दिइन ।
आरेकमा आर्थिक वर्ष २०७६÷०७७ मा १ सय २५ वटा हिंसाका घटनाहरु दर्ता भएको थिए । त्यसमध्य सबै भन्दा धेरै ९० वटा घरेलु हिंसाका घटनाहरु दर्ता भएका थिए ।
२०७७÷०७८ मा सामाजिक हिंसा (गालि गलौज, कुटपिट) का १५ वटा ,जवरजस्ती करणीका १० वटा, बाल बिवाहका ३ वटा, यौन दुव्यवहारका २ वटा, आत्महत्याका २ वटा, जवरजस्ती करणी प्रयास सम्बन्धि एउटा र अन्य एउटा गरि ओरेकमा १ सय ९ वटा हिंसाका घटनाहरु दर्ता भएको तथ्याङ्क छ ।
पीडित महिलालाई ओरेकले न्यायिक निकाससम्म पुग्नका लागि आबस्यक सहयोग सँगै जोखिममा परेका महिलाहरुलाई सुरक्षा आबास गृहमा राखेर परामर्श गर्दै आएको संयोजक थापाले जानकारी दिइन ।
ओरेकको तथ्याङ्कमा ६ वर्ष देखि ६० वर्ष माथि उमेर समुहका महिलाहरु बढी हिंसामा पर्ने गरेको उल्लेख छ ।
महिला हिंसा बिरुद्ध र लैङगिक समानताका लागि निरन्तर गाउँ – गाउँसम्म पुगेर सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको भएपनि समाजमा रहेको पितृसत्तात्मक सोच, लैङ्गिक असमानता, अन्धविश्वास, अशिक्षा, यौन असन्तोष र दाईजो जस्ता कारणले हिंसाका घटना हुने गरेको थापाले बताइन ।
नीति निर्माणको तहमा महिलाको प्रतिनिधित्वको कमी जस्ता विषयले गर्दा महिला हिंसा न्यूनिकरणमा समस्या भएको संयोजक थापाको तर्क छ । अधिकांश हिंसाका घटनाहरु चिनजानका ब्यक्ति तथा नातेदारबाटै हिंसामा पर्ने गरेको थापाले बताइन ।