काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्ने प्रवितवद्धता फेरि दोहोर्याएका छन्।
कांग्रेस शीर्ष नेताको बैठकमा देउवाले भदौभन्दा पर महाधिवेशन सार्नका लागि पार्टीमा विकल्प नरहेको जनाउँदै तोकिएको समयमै महाधिवेशन हुने बताए।
देउवाले बैठकमा दिएको अभिव्यक्ति बारे एक नेताले भने, ‘भदौमा महाधिवेशन गर्नैपर्छ। तल्लो तहको अधिवेशन सारेर केन्द्रीय महाधिवेशन तोकिएकै समयमा गरौं।’ सभापति देउवा भदौमा महाधिवेशन गर्ने पक्षमा देखिएको ती नेताले बताए।
१४ औं महाधिवेशनको समय भदौ १६ देखि १९ सम्मको लागि तोकिएको छ। तल्लो तहको अधिवेशन साउन १२ बाट गर्न नसकिने निर्णयमा पार्टी पुगेको छ।
तल्लो संरचनामा कहिले देखि अधिवेशन गर्ने बारे शीर्ष तहमा निष्कर्ष भने निस्किएको छैन। बैठक शनिबार विहान ९ बजे पुनः बस्नेछ।
प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार