२०८१ चैत्र १४ गते बिहिवार

मास्कमा छिपाएर ब्राउन सुगरको कारोबार !

तुलसीपुर ६ की ४५ बर्षीया महिलापनि पक्राउ

तुलसीपुर, साउन ७ । मास्कमा छिपाएर ल्याउँदै गरेको प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दूई किशोर पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पैंयाखोरेका १८ बर्षीय प्रकाश बिक र तुलसीपुर ५ का १४ बर्षीय किरण बिक पक्राउ परेका छन् । बाँकेको नेपालगञ्जबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ८५१५ नम्बरको मोटरसाईकलमा सवार उनीहरु चेक जाँचका क्रममा तुलसीपुर १३ दमारगाउँबाट बुधबार बेलुका पक्राउ परेका हुन ।

प्रकाशले चलाएको मोटरसाईकलको पछाडि सवार किरणले आँफुले लगाएको मास्क भित्र लुकाई छिपाई राखेको अवस्थामा ३ पुरियाको २ ग्राम लागु औषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय घोराही र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको साधा पोशाकका प्रहरी उनीहरुलाई बेलुका साढे ६ बजेतिर पक्राउ गरेका थिए ।

त्यस्तै बुधबार बेलुका साढे ७ बजेतिर तुलसीपुरको दमारगाउँबाटै तुलसीपुर ६ भिआईपी टोल बस्ने ४५ बर्षीया चामुकुमारी बिश्वकर्मा ब्राउन सुगरसहित पक्राउ परेकी छन् ।

बिश्वकर्माले बोकेको झोला भित्र कालो प्लाष्टिकमा छिपाई राखेको ७ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता रिजालले बताए । नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ७२९४ नम्बरको बसमा सवार उनलाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सबै माथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *