तुलसीपुर,असार २९ । लुम्बिनी प्रदेशमा विपदबाट ७८ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७÷०७८को साउन महिनादेखि असार अन्तिम सम्ममा ७८ जनाको मृत्यु भएको हो ।
आन्तिरिक मामिला तथा कानुन मन्त्रालय लुम्बनी प्रदेश विपद व्यवस्थापन कोषका अनुसार आगलागी,बिजुली,बाढी, पहिरो,वर्षा,लगाएतका विपद्का घटनाबाट मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशमा एक वर्षमा ६ सय ९० वटा विपद्का घटना भएका थिए । ति मध्ये सबैभन्दा बढी ३ सय ८१ वटा आगलागिका घटना भएका छन । जसबाट १५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन ।
प्रदेश विपद व्यवस्थापन कोषका सुचना अधिकारी बाबुराम पन्थीले लुम्बनी प्रदेशमा एक वर्षको अवधीमा सर्पको टोकाईबाट ६ जनाको मृत्यु भएको बताए । उनका अनुसार सर्पको टोकाईबाट २२ जना घाइते भएका छन ।
लुम्बिनी प्रदेशमा बाढीबाट ४ जनाको मृत्यु, ६ जना घाइते र ४ जना बेपत्ता भएका छन । त्यस्तै पहिरोबाट १६ जनाको मृत्यु,१३ घाइते र १ जना बेपत्ता भएका छन । भारी वर्षाबाट ४ जनाको मत्यु भएको छ भने भने १० जना घाइते भएको सुचना अधिकारी पन्थीले जानकारी दिए ।
उनका अनुसार फ्लैश बाढीबाट २ जनाको मृत्यु भएको छ । त्यस्तै बिजुली (करेन्ट) बाट ७ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन ।
प्रदेशमा पशु–घटनाबाट १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते छन । र अन्य १२ वटा विभिन्न घटना गरि लुम्बिनी प्रदेशमा विपद्बाट ७८ जनाको मृत्यु भएको छ भने २ सय १९ जना घाइते भएका छन ।
यसैबिच लुम्बिनी प्रदेशमा आगलागिबाट ३ सय ६० घर पुर्णरुपमा जलेर नष्ट भएका छन । साथै लुम्बनी प्रदेशमा गत वर्र्ष १ सय ७० जनाको मृत्यु भएको थियो ।
प्रदेशमा अघिल्लो वर्षको तुलनामा यस वर्ष विपद्बाट क्षति हुनेको सङ्या घटेको देखिन्छ ।
विपदबाट दाङमा ४९ जनाको मृत्यु
यसैबिच दाङमा यसवर्ष विपद्बाट ४९ जनाको मृत्यु भएको छ । आर्थिक २०७७÷०७८ मा जिल्लामा ३ सय १२ वटा विपद्का घटना भएका थिए ।
जसबाट ४९ जनाको मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख विश्व अर्यालले जानकारी दिए ।
उनका अनुसार जिल्लामा पानीमा डुबेर (पोखरी,कुवा,खाडल) २९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ जना पुरुष छन भने ५ जना महिला छन ।
त्यस्तै करेन्ट लागेर ६ जना,आगलागीबाट २ जना,सर्पको टोकाईबाट ५ जना र खोलाले बगाएर ५ जना गरि ४९ जनाको मृत्यु भएको हो । जिल्लामा विपद्बाट मृत्यु हुनेमा पुरुषको सङ्या बढी छ ।
जसमा पुरुष ३५ जना छन भने महिला १४ जना छन । विभिन्न विपद्का घटनाबाट २६ जना घाइते भएका छन ।
जिल्लामा भारी वर्षाका कारण १ सय ४८ वटा घटना भएका छन । दाङमा गत वर्ष विपद्बाट ४८ जनाको मृत्यु भएको थियो ।
विपद कोषको २ करोड ७३ लाख ६ हजार खर्च
यसैबिच लम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापन कोषको कुल ७ करोड ५५ लाख ७ हजार ३ सय ८६ रुपैया मौज्दात रकम मध्ये २ करोड७३ लाख ६ हजार रुपैया खर्च भएको जनाएको छ ।
व्यवस्थापन कोषका सुचना अधिकारी बाबुराम पन्थीका अनुसार विपदबाट क्षति भएका ४ सय ५३ घरधुरीका लागि २ करोड २० लाख ४५ हजार रुपैया राहत रकम वितरण गरिएको छ ।
त्यस्तै व्यवसाय क्षतिका लागि ४ लाख ६१ हजार रुपैया र विपद्बाट मृत्यु भएका २५ घरपरिवारलाई २५ लाख राहत रकम वितरण गरिएको छ ।