काठमाडौं,असार २७ । विपक्षी दलसँग आवद्ध संयुक्त विद्यार्थी संगठनले नेपाल वायु सेवा निगमका महाप्रबन्धकलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
शनिबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको हो ।
संयुक्त विद्यार्थी संगठन र नेपाल वायु सेवा निगम र नागरिक उड्डयन प्राधिकरण सम्बद्ध कर्मचारीसँग निगमलाई निजीकरण गर्ने विषयमा भएको छलफलपछि यस्तो माग गरेको हो ।
बैठकले निगमका कर्मचारीको आन्दोलनप्रति ऐक्वद्धता प्रकट गर्दै महाप्रबन्धकलाई बर्खास्त गर्न माग गरेको हो ।
नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने योजना ल्याउने, निगमलाई घाटामा लैजाने काममा संलग्न वायु सेवा निगमका महाप्रबन्धकलाई तत्काल बर्खास्त गर्न माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘वायु सेवा निगमका कर्मचारीको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दछौँ ।’
विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीवन ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंकी अध्यक्ष विमला पोखरेलले हस्ताक्षर गरेका छन् ।
