दाङ, असार १८ । असार १५ गते बिहान २ बजे घोराही १४ निमाहल रोडबाट रा ५ प ४४९६ नम्बरको २२० सिसीको पल्सर मोटरसाईकलसहित रोल्पाको लुङ्ग्री गाउँपालिका ५ का २५ बर्षीय नुमबहादुर रोका क्षत्री र २४ बर्षीय हिराबहादुर बिष्ट पक्राउ परे । अनुसन्धानका क्रममा मोटरसाईकल चोरीको भएको तथ्य उजागर भयो । प्रहरीले उनीहरु माथि सुछ्म अनुसन्धान पछि चोरी कार्यमा संलग्न थप ६ जनालाई पक्राउ गर्न सफल भयो ।
जसबाट प्रहरीले मोटरसाईकल गिरोह नै पत्ता लगाउन सफल भएको छ । जसले दाङबाट महंगा मोटरसाईकल चोरी गरि पहाडी जिल्लाहरु रोल्पा र प्यूठानहरुमा लगेर मोटरसाईकलको स्वरुप परिवर्तन गरि सस्तो मूल्यमा बिक्रि बितरण गर्दै आएका थिए ।
अनुसन्धानबाट रोल्पाको सुलिचौरमा ग्लोबल बजार सर्भिस सेन्टर सञ्चालन गर्दै आएका २८ बर्षीय श्रीताज अली पक्राउ परे । प्रहरीका अनुसार अली चोरीका मोटरसाईकल ५० हजारसम्म मूल्य हालेर खरिद गर्ने र मोटरसाईकल चोरी कार्यका लागि गिरोह समेत परिचालन गर्ने प्रमुख ब्यक्ति हुन ।
रोल्पाको लुङ्ग्री गाउँपालिका ४ का २६ बर्षीय लेखनाथ बिष्टले श्रीताज अलीसंग चोरीका मोटरसाईकलहरुका लागि रकम प्राप्त गरि नाफा खाएर बिक्रि गर्दे आएका थिए ।
त्यस्तै लुङ्ग्री ५का २५ बर्षीय टेकेन्द्र बिष्टले लेखनाथ बिष्टबाट रकम प्राप्त गरि बीचमा नाफा खाएर चोरी कार्यका लागि मानिसहरु परिचालन गर्ने गरेका थिए । बिष्टबाट लुङ्ग्री ६ का २६ बर्षीय नुमबहादुर रोका क्षत्री, २२ बर्षीय हिराबहादुर बिष्ट र दाङको गढवा गाउँपालिकाका बिबेक भनिने सुरज चौधरीले एउटा मोटरसाईकलका लागि दश हजार रकम लिएर चोरी कार्यमा खटिने गरेको प्रहरी अनुसन्धालने देखाएको छ । जसमध्य क्षत्री र बिष्ट पक्राउ परेपनि चौधरी भने फरार रहेका छन् ।
त्यस्तै असार १४ गते घोराही १५ नापी कार्यालय अगाडि पार्किङ गरि राखेको सुबोध आचार्यको रा ३ प ८५६९ नम्बरको २२० पल्सर मोटरसाईकल चोरी भयो ।
उक्त मोटरसाईकल चोरी गरि भाग्दै गरेका एक ब्यक्ति कपिलबस्तु जिल्लाको शिबराज नगरपालिका वडा नं. १ शिबपुरबाट छिमेकी देश भारतको जिल्ला बलरामपुर तुलसीपुर थानाका २२ बर्षीय मोहम्मद रफिक पक्राउ परे । सोधपुछका क्रमाम चोरीको मोटरसाईकल भएको तथ्य उजागर भयो ।
रफिकमाथि अनुसन्धान गर्दा प्यूठानको स्वर्गद्धारी नगरपालिका ३ जलुकेमा थापा अटो पार्टसका सञ्चालक २४ बर्षीय ठगिराम थापाले नै रफिकलाई चोरी कार्यमा परिचालन गरेको खुल्न आयो । थापाले चोरीको मोटरसाईकलहरु खरिद बिक्रि गर्ने गरेको तथ्य फेला परेपछि उनी पक्राउ परे ।
रफिक संग भेटपछि दाङ घोराही १९ का १९ बर्षीय जोबद खानपनि मोटरसाईकल चोरी कार्यमा संलग्न भए । उनीहरु मिलेर दाङका बिभिन्न स्थानबाट बिभिन्न समयमा मोटरसाईकल चोरी गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रशाद काफ्लेले चोरी कार्यमा मोटरसाईकल वर्कसप सञ्चालकहरुको मुख्य बदमासी देखिएको बताए ।
प्रहरीले ती बाहेक थप ११ वटा उनीहरुले चोरी गरेका मोटरसाईकलहरु बरामद गरेको भएपनि सवारी साधनको धनी पहिचान नभएको हुँदा सम्पर्क गर्न आग्रह गरेको छ । मोटरसाईकल नम्बर, इन्जिन नम्बर, च्याचिस नम्बर, कम्पनी र सिसी समेत प्रहरीले सार्वजनिक गरि सम्बन्धित ब्यक्तिलाई सम्पर्कमा आउन तथा मोटरसाईकल लैजान आग्रह गरेको छ ।