काठमाडौं, असार १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले १५ दिन भइसक्दा पनि मन्त्रीहरूलाई मन्त्रालय तोकेर जिम्मेवारी दिन सकेका छैनन्।
मुख्यमन्त्री नेपालीले अधिकांश मन्त्रालय आफैँसँग राखेका छन्।
उनले आज दुई मन्त्रीलाई भने जिम्मेवारी दिएको जानकारी प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्।
कांग्रेसबाट मन्त्री भएका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि तथा सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ।
यस्तै नेकपा माओवादीबाट मन्त्री भएकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
यसअघि नै नियुक्त भएका जसपाका हरिशरण आचार्य र स्वतन्त्र राजिब गुरूङलाई भने अझै विना विभागीय मन्त्रालयकै जिम्मेवारीमा निरन्तरता दिइएको छ।
मुख्यमन्त्रीर चार जना मन्त्री गत जेठ २९ मा नियुक्त भएका थिए। कांग्रेस संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री बनाउन माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थन थियो।
गठबन्धनबाट सरकार बनाएकोले मुख्यमन्त्री पोखरेलले कुन मन्त्रालय कसलाई दिने भन्ने टुंगो लगाउन सकेका छैनन्। महत्वपूर्ण मन्त्रालयमा जसपा र माओवादीका साथै स्वतन्त्र सांसदले पनि दाबी गरेका छन्।
गण्डकी सरकारलाई समर्थन गरे पनि सरकारमा भने सहभागी नहुने राष्ट्रिय जनमोर्चाले बताइरहेको छ।
मुख्यमन्त्री पोखरेलले भएकै मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन् भने मन्त्रिमण्डल बिस्तार पनि गरेका छैनन्।