२०८२ कार्तिक २४ गते सोमवार

सर्लाहीमा जेसिबी चालकले वडाध्यक्षको हत्या गरे

शब गाडेको अवस्थामा फेला

काठमाडौं, असार १२ । सर्लाहीमा एकजना वडाध्यक्षको हत्या भएको छ। इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको हो ।

स्थानीय मुखलाल दास पोखरीको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

नगरकै बजेटबाट पोखरीको सौन्दर्यीकरणको काम भइरहेको हुँदा त्यो निरीक्षण गर्न भनेर वडाध्यक्ष श्रेष्ठ ठेकेदार प्रेमराज दाहालसंग गएका थिए ।

त्यहाँ जेसिबी चालक हर्षबहादुर तामाङसँगै उनीहरुले खाजा खाने क्रममा भनाभन तथा विवाद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार त्यही क्रममा वडाध्यक्ष श्रेष्ठले चालक तामाङलाई चप्पलले हिर्काएका थिए ।

त्यसपछि उत्तेजनामा आएर जेसिबी चालकले जेसिबीको बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको प्रहरी नायव उपरिक्षक कुँवरले जानकारी दिए । जेसिबीको बकेटले वडाध्यक्षको टाउको र छातिमा प्रहार गरेपछि उनको हत्या भएको थियो ।

हत्यापछि शवलाई ठेकेदार र चालक मिलेर गाडेको प्रहरीले जनाएको छ । शनिबार बिहान दुबै जना पक्राउ परेपछि वडाध्यक्षको शब गाडेको अवस्थामा निकालिएको डिएसपी कुँवरले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ असार १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *