२०७८ साउन २० गते बुधवार

कपिलबस्तुका माओबादी नेताको हत्या – श्रीमतीकै योजनामा भएको तथ्य उजागर

कपिलबस्तु, जेठ ३१ । कपिलबस्तुमा श्रीमतीले नै श्रीमानको हत्याको लागि सुपारी दिएर सुटरलाई गोली हान्न लगाएको तथ्य उजागर भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य दिपक पाण्डेयमाथि जेठ ५ गते गोली प्रहार भएको थियो । त्यसको केही दिनपछि उनको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो । राति ११ बजे मोटरसाइकलमा रहेका तीन चार जना व्यक्तिले पाण्डेलाई गोली हानेका थिए।

सोमबार जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले आयोजना गरेको पत्रकार सम्मेलनमा कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले पाण्डेकै श्रीमतिको योजनामा उनको हत्या भएको तथ्य सार्वजनिक गरेकन हुन । प्रहरीले घटनाका दोषी पाण्डेकी श्रीमतीसहित ११ जनालाई सार्वजनिक गरेको छ ।

कपिलवस्तु नगरपालिका १ आनन्दबाग बस्ने ओमप्रकाश यादव र पान्डेकी श्रीमती महिमा पाण्डेबीच बिगत ५ बर्षदेखि प्रेम सम्बन्ध रहेको कारणले श्रीमतीकै योजनामा श्रीमानको हत्या भएको प्रहरीले अनुसान्धान पछि सार्वजनिक गरेको हो ।

महिमा पान्डेय र ओम प्रकाश यादवका बीचमा बिगत २ ÷ ३ बर्ष अघिदेखि नै दीपक पाण्डेयको हत्या गर्ने योजना बनेको कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुकै योजनामा दीपकलाई मार्न बिभिन्न ब्यक्तिहरुलाई यो भन्दा पहिला पनि सुपारी समेत दिएको भएपनि पटक÷ पटक हत्याको प्रयास असफल भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

मुख्य योजनाकार कपिलवस्तु १ का ३९ वर्षीय यादव जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन । उनी जसपाको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्षसमेत हुन । प्रहरीका अनुसार यादवले घटना घट्दा लु १६ प ३४९७ नम्बरको मोटरसाइकल चलाएका थिए। मोटरसाइकलको पछाडि रहेका रमजान साह मुसलमान र साकिरअलि पखियाले पाण्डेलाई दुई वटा पेस्तोलबाट एक÷एक गोली हानेका थिए।

पखियाले कटुवा पेस्तोलबाट एक राउन्ड र मुसलमानले अटोमेटिक पेस्तोलबाट एक राउन्ड गोली हानेका थिए । प्रहरीले उनीहरुको साथबाट हतियार तथा गोलीहरू बरामद गरिसकेको छ । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले यादवको साथबाट पेस्तोल, म्यागजिन, ६८ राउन्ड गोली बरामद भएको जानकारी दिए ।

यस्तै, मुसलमानको साथबाट मेड इन युएसए पेस्तोल एक थान, म्यागजिन र ८ राउन्ड गोली बरामद भएको उनले बताए । मुसलमानले पाण्डेलाई मार्न भनेर यादवबाट एक लाख रूपैयाँ लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

यो घटनामा सम्लग्न मध्य कपिलवस्तु नगरपालिका १ आनन्दबागका ३५ वर्षीय पूर्णवीर पाल्पाली, वडा नम्बर २ का सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ का ज्ञानेन्द्रकुमार पाण्डेय, सोही ठाउँका राधेश्याम चौधरी, कपिलवस्तु ५ का श्रीराम कुर्मी, कपिलवस्तु १ का नरसत अली र वडा नम्बर २ का प्रवीण गुप्तालाई पनि प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ ।

नरसत अलीले मुख्य योजनाकार यादवबाट एक लाख नगद लिएर हतियार खरिद गरी दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सातमध्ये पाल्पालीले घटनामा प्रयोग भएको पेस्तोल लुकाएर सहयोग गरेका थिए । पाण्डेयले प्रतिवादी राधेश्याम चौधरीलाई भारतबाट हतियार ल्याएर बिक्री गरेको प्रहरीले जनाएको छ ।

सद्दाम हुसेन खान, राधेश्याम चौधरी र कुर्मीले साकिर अलि पखियालाई हतियार खरिद बिक्री गर्न सहयोग खुल्न आएको प्रहरीले जानकारी दिएको छ । घटनापछि डिएसपी भण्डारीको नेतृत्वमा ‘माइक ह्वीस्की’ नाम दिएर प्रहरीले अनुसन्धान सुरू गरेको थियो।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *