२०८१ असार ३ गते आइतवार

तुलसीपुरको ९औं नगरसभा

निर्वाचनमा गरेका अधिकाँस बाचा पुरा गरेको नगर प्रमुख पाण्डेको दाबी


तुलसीपुर, जेठ ३१ । तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले निर्वाचनमा गरेका अधिकांस प्रतिवद्धता पुरा गरेको बताएका छन् । सोमबार ९औं नगरसभा तथा बार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको समयमा आफुले जनताको माझमा गरेका अधिकांस बाचा पुरा गरेको दाबी गरेका हुन ।

अब केही बाँकी प्रतिवद्धताहरु एक बर्षको अवधिमा पुरा गर्ने गरि अघि बढ्ने उनले बिश्वास दिलाउन खोजे ।
मेट्रो कलेज स्थापना, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, एक वडा एक नगर स्वास्थ्य केन्द्र, खरको छानोमुक्त अभियान, टरिगाउँ एयरर्पोट संचालन, सुत्केरी भत्ता, तुलसीपुर बसपार्क व्यवस्थापन, उज्यालो तुलसीपुर, मेट्रो अस्पताल लगताएत भौतिक पुर्वाधार विकास जस्ता आफुले गरेका बाचाहरु पुरा गरेको बताए ।

यद्यपी उनले निर्वाचनको समयमा तुलसीपुरलाई नेपालकै उत्कृष्ट, स्मार्ट तथा नमुना सहर बनाउने कुरा सबै भन्दा जोडतोडका साथ उठाउने गरेका थिए । टरिगाउँ एयरपोर्टको धावन मार्ग बिस्तार अर्कौ प्रमुख चुनाबी एजेण्डा थियो । उनले भने– ‘चारबर्षे कार्यकाल पुरा गरेर अन्तिम चरणमा आएकाले यस अवधिमा हामीले गरेका कामको समिक्षा र आगामी जनमुखी योजनाको विषयमा संगसंगै हातेमालो गरेर अघि बढ्ने बेला आएको छ ।’

त्यस्तै उनले प्रतिपक्षी दल नेपाली काँग्रेसको भूमिकाको पनि प्रशंशा गरे । विभिन्न राजनीतिक क्षेत्रबाट आएपनि चारबर्षे कार्यकाल सौहार्दपूर्ण वातावरण बन्नु र तुलसीपुर नेपालकै नमुनाको रुपमा परिचित हुनुमा वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीको ठूलो सहयोग र साथ रहेको उनले बताए ।

आफुहरुले उठाएको खरको छानो मुक्त अभियाले राष्ट्रिय चर्चा र महत्व पाएको उनले बताए । भने – ‘खरको छानो भएकै कारण चुहिएर असुरक्षित भएका गरिब तथा विपन्न वर्गका घरमा टिनको छानो लगाएर कोही नहुनेको सरकार हुन्छ भन्ने कुराको महसुश गराएका छौं।’

तुलसीपुरबाट सुरु भएको अभियान आज देशका ७७ वटै जिल्लामा लागु भएको भन्दै उनले खुसी साटे । ‘कोही नहुनेको सरकार छ । जनप्रतिनिधी छन् भन्ने कुराको हामीले महसुश बनाएका छौ,’ पाण्डेले भने–‘केही घरमा अझैपनि टिन लगाउनुपर्ने छ र त्यो कामलाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिनेछौ ।’

त्यस्तै उनले तुलसीपुरले उठाएको स्वास्थ्यको अवधारणाले पनि देशभर सार्थकता पाएको दाबी गरे । आफुले मेट्रो कलेज थालनी गरेपछि देशभर त्यसको सिको गर्दै एकैसाथ सयौं अस्पताल केन्द्रले सिलन्यास गरेको उनले बताए ।

कार्यक्रममा उपप्रमुख माया अचार्यले नगरले गरेका ४४ वटा अनुकरणीय कार्य भएको भन्दै त्यसको समिक्षा गरेकी थिइन । कार्यक्रममा १९ वटै वडाका वडा अध्यक्षहरुले आ–आफ्नो वडामा चार बर्षको अवधिमा भएका गतिविधि प्रस्तुत गरेका थिए ।

त्यसैगरी नगरसभामा विद्यायन समितिका संयोजक अमर नेपाली (माइकल), सुशासन समितिका संयोजक सुर्य बहादुर डाँगी (श्याम) वातावरण तथा विपतद व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, सामाजिक विकास समितिका संयोजक कुमार लामीछाने, आर्थिक समितिका संयोजक माधव वली, लेखा समितिका संयोजक राजु आचार्यले प्रस्तुत गरेको प्रतिवदेन माथि छलफल भएको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *