दाङ, जेठ ३१ । भेरी अस्पताल नेपालगञ्जले असार १ गतेदेखि ओपिडी सेवा सुरु गर्ने भएको छ । अस्पतालले कोरोना भाइरस महामारी दोस्रो लहर सुरु भएपछि ओपिडी सेवा बन्द गरेको थियो ।कोडिभका बिरामी घटेसंगै फेरि अस्प्तालले बन्द बहिरंग सेवा सुरु गर्न थालेको हो । भेरी अस्पतालमा हाल ६८ जना कोरानाका बिरामी रहेको अस्पताल प्रशासनले जनाएको छ ।
हाल अस्पतालमा एक सय १७ बेड खाली भएका छन । बेड खाली हुने दर बढ्दै गएपछि बहिरंग सेवा सुरु गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना बिरामीको उपचारका लािग भेरीले दुई सय बेड सञ्चालन गरेको थियो । कुनैदिन त्यहाँ एकैदिन ३ सय २६ जनासम्म बिरामी भर्ना भएको रेकर्ड रहेको अस्पताल प्रशासनले जनाएको छ ।
यहाँका तीनवटै प्रयोगशालाको रिपोर्टले पनि परीक्षण गर्ने र संक्रमण दर घटेको देखाएको छ । कोहलपुर मेडिकल कलेजले यसअघि नै ओपिडी सेवा सञ्चालन गरिसकेको छ । कोहलपुरले १ सय ३० बेड कोरोना बिरामीका लागि छुट्याएकोमा अहिले एक सय ८ बेड खाली भएको छ । बाँकेका अस्पतालहरुमा अहिले ९१ जना बिरामीको उपचार भइरहेको छ ।