
घोराही, जेठ २० । ‘पुल कहिले बन्ला ? कोरोना सकिएपछि …। कोरोना कहिले सकिएला ? खोलामा पुल बनेपछि… ।’ घोराही—तुलसीपुर सडक खण्डको पत्रेखोला पुलछेउमा मोटर साइकलमा अडिएका दूई युवाहरुको भलाकुसारी थियो, यो ।
त्यसो त वल्ल पत्रेखोलामा पिलर ठड्याएको करिव ६ बर्षपछि बल्ल ढलाइको काम सुरु भएको थियो,बुधवार । निर्माण कम्पनीका प्रतिनिधि पदमप्रसाद शर्मापनि त्यही उपस्थित थिए । यसपाली त ढलाइको काम जसरी पनि सकिने र पुल सञ्चालनमा आउने उनको आशा थियो ।
तर, खै ढलाई मात्र भएर कसरी चल्ला पुल…।केहीवेर अडिएका ती युवाहरु बल्ल तल्ल पत्रेखोला क्रस गरे । सायद दैनिक वाइकिङ गर्नेहरु थिएनन् उनीहरु । पत्रेखोलाको वहावको पश्चिम तर्फ पानी मुनीको पुल अर्थात कच्वे भत्किएको उनीहरुलाई पत्तो थिएन । त्यही खाडलमा वाइक केही समय फस्यो । बल्लतल्ल निकाले । किनारामा पुगेपछि उनीहरुको वहश चारलेन सडकको हविगततिर मोडियो । भारतको ठूलो निर्माण कम्पनीले जिम्मा लिएको र भारतकै एक्जिम बैंकको आर्थिक सहयोगमा सो पुल निर्माणको ठेक्का भारतको मुम्वैस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले जो पाएको छ ।
तर, कम्पनीले प्रत्यक्ष रुपमा फिल्डमा काम नगरी स्थानीय नेपाली युवाहरुलाई पेटी प्रतिनिधिका रुपमा कामको जिम्मा दिएको छ । अर्थात पेटी ठेक्कामा काम भइरहेको छ । चारलेन सडक निर्माणको ।
त्यही सडकको दूर्दसा करिव दूई बर्षदेखि नियालीरहेका ती युवाहरुले ठेकेदारका विषयमा पनि गुनासोहरु गुन गुनाइरहेका थिए । कस्तो होला ठेकेदार?
‘एक महिना कामगर्ने, एघार महिना हराउने’ अघिल्लो शालको कोरोना भाइरसको संक्रमाकै वेला काम सुरु भएको चारलेन सडक किनारा अहिले धान रोप्न तयार गरिएका गरा जस्ता भएका छन् ।
घोराही—तुलसीपुर सडक छिचोल्दै अलि अगाडि पुगेपछि घोराही र तुलसीपुरलाई हाइ भोल्टले जोड्ने हाइटेन्सनका तारहरु असरल्ल थिए । पोल गाड्न सुरु भएको दूई बर्षमा पनि तार तान्ने काम पुरा भएको छैन । तार तान्ने ठेकेदार कहाँका हुन ? यहाँका स्थानीय सरकारहरुलाई पनि थाहा छैन सायद । विद्युत तार तान्ने सवालमा भएको ढिलासुस्तिका विषयमा कुरा उठाउने त स्थानीय सरकारका प्रतिनिधि तथा प्रमुखहरुलाई फुर्सदनै छैन ।
पछिल्ला बर्षहरुमा विकाश बजेट खर्चको दर अन्यन्तै कमजोर रहेको छ । बर्षेनी बजेट फ्रिजहुने रोग अघिल्ला दूई बर्षमा भने कोरोनाको संक्रमणले झन सिकिस्त भएको छ ।
अघिल्लो आर्थिक बर्षमा कोरोनाको वाहनामा मुलुकका धेरै गौरवका योजना तथा प्रदेश सरकार र स्थानीय पालिकाका योजनाहरु पनि निर्माण सम्पन्न हुन सकेनन् । भारी मात्रामा विकाश बजेट फ्रिज भयो ।कोरोना भाइरसको संक्रमणका कारण विकाश निर्माणमा धक्का लाग्नु स्वाभाविक नै हो । तर, विकाश निर्माणका सवै योजनाहरु लकडाउनले रोकेको भन्नु गलत हो । त्यो रोकेकै छैन ।
अघिल्लो साता मात्रै पुल विभागको माताहतमा निर्माण भइरहेको दंगिशरणको भैवाङदेखि मलै जोड्ने पुलको ढलान सम्पन्न भएको छ । कुइरेपानी – सर्रा वैकल्पिक रोडको सिस्ने पुलमा पनि धमाधम ढलाइको काम भइरहेको छ । निजी घर तथा भवनहरु ध्माधम यो बीचमा पनि बनिरहेकै छन् ।
कामगर्न चाहने जोसुकै निर्माण कम्पनीलाई सामान ढुवानीमा सरकारी सुरक्षा अधिकारी तथा सुरक्षाकर्मीहरुले अवरोध पु¥याएका छैनन् । तर विकाश निर्माणमा यसरी लापर्वाहीपूर्ण तवरले हुने ढिला सुस्तिका विरुद्ध कारवाहीको माग कही कतैबाट भएको पाइदैन ।
अघिल्लो बर्ष काम सन्तोष जनक नभएको भन्दै पेटी ठेकदार फेरवदल गरिएको तथा निर्माण कम्पनीलाई पेनाल्टी तिराइएको फोरलेन सडक परियोजना यो बर्ष त झनै काम नै सुरु हुन सकेन । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण देखिनु अघि नै फिल्डमा काम छाडेको निर्माण कम्पनीलाई अहिले त हाइसञ्चो भएको हुन पर्छ । किनकि भारतसंगै नेपालपनि कोरोना भाइरसको चरम चपेटोमा परेका छन ।
लकडाउन थपिंदै गर्दा मजदुरका घरमा अव डालो रित्तो भइसकेको छ । तर,निर्माण कम्पनीका प्रतिनिधिहरुले लकडाउन सुरु हुनुभन्दा अघिसम्म गरेको कामकै भुक्तानी बाँकि राखेर सम्पर्कविहिन अवस्थामा रहेका छन् ।
तैपनि निर्माण कम्पनीले वाहना बनाएका छन्, कि, विकाश निर्माणका लागि मजदुर पाउनै मुस्किल छ । मजदुर काम नपाएर भोकभोकै रहनुपर्ने अवस्था छ । तर निर्माण कम्पनीले मज्दुर पाइएन भन्दै काम नगर्ने प्रबृत्तिको निगमन र अनुगमन कसले गर्ने ?
कसरी भरिएला मजदुरका डालामा अन्न ? काम विहीन भएर भोकै पर्ने अवस्था आएपछि मजदुरहरुपनि यसरी मौन बस्ने अवस्था सायद रहने छैन ।
कुरा पुल र सडकमा मात्रै सीमित छैन । गत मंसिरमा शिलान्यास गरेर बैशाख÷जेठ सम्म निर्माण सम्पन्न भइसक्ने भनिएको तुलसीपुरको टरिगाउ विमानस्थलमा इन्धन डिपोको निर्माणको काम सुरु नभएरै समय सकियो । तर, स्थानीय सरकार वेखवर छ ।
दिनरात कोरोनाको व्यवस्थापनमा खटिएको बताइरहने सरकारका मानिसहरु विकाश निर्माणमा पनि अलिअलि लाग्ने होइन र ?
ती युवाहरु यही बोलिरहेका थिए । किनकि सडक खुल्ला र सुनसान जो थियो…।
उनीहरुको चिन्ता सायद विकाश निर्माण र कोरोना दुवै अनिश्चित जस्तै बन्न थालेको प्रति थियो ।
