दाङ, जेठ १९ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा स्वास्थ्यकर्मीहरुले गरिरहेको आन्दोलनलाई नाटकको संज्ञा दिएका छन् । नाताले लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलका नातिनी ज्वाँई समेत रहेका अध्यक्ष धितालले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै स्वास्थ्यकर्मीलाई आन्दोलनको राजनीति बन्द गर्न चेतावनी पनि दिएका छन् । ‘ भेरी अस्पतालमा दिनहुँ हुने नाटक बन्द नगरे अतिको खति हुने छ,’ अध्यक्ष धितालले चेतावनी दिदै लेखेका छन् ‘ राजनीति बन्द गर ।’ अहिलेको अवस्थामा कामगर्न छोडेर दिनहुँ आन्दोलन गर्न थालेपछि आफुले स्ट्याटस लेखेर त्यसलाई नाटकको संज्ञा दिएको धिताले फोनमा बताए ।
‘अहिले जनताको सेवा गर्न छोडेर आन्दोलन गर्नुलाई जायज मान्न सकिन्न,’ धितालले भने ‘आन्दोलन नगर भन्दापनि नमानेपछि त्यसलाई राजनीति र नाटक नभनेर के भन्ने ?’ मुख्य मन्त्री संगको नाताका कारण जोडेर राजनीति गर्न खोजिएको भन्दै उनले रोष प्रकट गरे । उनले नेपाली काँग्रेस, माओबादीले मुख्य गरि स्वास्थ्यकर्मीलाई उक्साएको आरोप लगाउँदै त्यो रोकिनुपर्ने बताए ।
अध्यक्ष धितालले आक्रमण गर्ने ब्यक्तिलाई कारबाही हुनुपर्छ भनेर आफुपनि लागि परेको जिकिर गरे । तर, भेरी अस्पतालमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मीले अस्पतालकै अभिभावक तथा बिकास समितिका अध्यक्ष जस्तो ब्यक्तिले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसले उनले दोषीलाई जोगाउन लागेको स्पष्ट भएको बताइन ।
उनले सुरुदेखि नै बिकास समितिका अध्यक्ष लगाएका ब्यक्तिहरु दोषीलाई जोगाउन लागि परेको हुँदा आशंका उब्जिएको बताइन । त्यही आशंकाले गर्दा डिउटी आवर पछि स्वच्छिक रुपमा बेलुका ६ देखि ७ बजेसम्म आफुहरुले शान्तिपूर्ण रुपमा खबरदारी गर्नका लागि पर्दशन गर्ने गरेको बताइन ।
उनले मुद्दा दिन जाँने क्रममा र प्रतिबेदन बुझाउने समयमा समेत अध्यक्ष उम्किने खोजेको तथा खोजेर ल्याउनु परेको जानकारी दिइन ।
प्रतिबेदन बुझाउन ढिला हुनुको कारण जान पनि ढिला भएको हो,’ उनले भनिन् ।दोषीलाई राजनीतिक अस्थाका आधारमा उन्मुक्ति दिने प्रयास भए त्यो स्वीकार्य नहुने उनले बताइन । उनले कुनैपनि स्वास्थ्यकर्मीले राजनीति नगरेको बरु अस्पताल बिकास समितिका अध्यक्षबाटै राजनीति रुपमा षडेन्त्र भइरहेको बताइन ।
कोरोना संक्रमित दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरीका ५४ बर्षीय डिल्लीबहादुर रावतको जेठ १३ गते बेलुका भेरी अस्पतालमा मृत्यु भएपछि नेकपा एमाले प्रदेश कमिटी सदस्य मानबहादुर रावत, लोकराज रावत र भरत रावतले डाक्टर तथा नर्सिङ स्टापहरुमाथि कुटपिट गरेका थिए ।
घटना पछि सोही दिन राति प्रहरीले आक्रमणमा संलग्न उनीहरुलाई पक्राउ गरेको थियो । चिकत्सक, डाक्टरहरु माथि आक्रमण गर्नेहरुका बिरुद्ध ज्यान मार्ने उद्योग र कोभिड–१९ सम्बन्धि मुद्दा पीडितहरुले दिए प्रहरीमा दिएका छन् ।