दाङ, जेठ ८ । विपक्षी पाँच दलिय गठबन्धनको शनिबार काठमाडौंमा बसेको बैठकले प्रतिनिधि सभा विघटनको विरूद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् ।
बैठक पछि पाँच दलिय गठबन्धनका नेताहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै संसद बिघटन बिरुद्ध सडक आन्दोलन गर्नेदेखि अदालतमा जाने सम्मको निर्णय गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र–बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त बिज्ञप्ति मार्फत राष्ट्रपतिले मध्य राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक रहेको उल्लेख गरेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका नेता माधवकुमार नेपाल, समाजबादी पार्टीका उपेन्द्र यादव र दुर्गा पौडेलले बिज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपतिले दिएको समय शुक्रबार बलेका ५ बजे भित्रै नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन दाबीसहित बिपक्षी दलहरु १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय पुगेका थिए ।त्यस्तै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली १५१ सदस्यको समर्थन रहेको दाबीका साथ राष्ट्रपति कार्यालय पुगेका थिए । त्यसपछि राष्ट्रपति बिद्यादेबी भण्डारीले कानुनबिदहरु संग रायलिएरु मात्रै निर्णय लिने कुरा गरेकी थिइन ।
त्यसपछि मध्य राति बसेको मन्त्री परिषदको बैठकले संसद बिघटन गर्न र निर्वाचनमा जानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । त्यही सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले मध्यरातमै संसद बिघटन गरि कात्तिक २६ र मंसिर ३ गतेका दिन प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेकी थिइन ।
उक्त कदमलाई काँग्रेस, माओबादीसहितका पाँच दलिय बिपक्षी गठबन्धनले असंबैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलन गर्ने निर्णय गरेका हुन ।
