
दाङ, जेठ ३ । सल्यानमा ‘अक्सिजन प्लान्ट’ खरिद प्रक्रियामा आर्थिक अनियमितताको आशंका गरिएको छ । आइतबार जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट नभइ कन्सन्ट्रेटर रहेको र त्यो खरिद प्रक्रियामा लाखौं आर्थिक अनियमितताको आशंका भइरहेको सल्यान जिल्लाका पूर्व जिल्ला बिकास समितिका सभापति मनोज प्रधानले बताए ।
अस्पतामा उक्त उपकरण जडान पछि शनिबार मात्रै प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेबी हुमागाँई र शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य समेत रहेका प्रधानले उक्त उपकरण खरिद गर्दा झन्डै ३६ लाख बढी अनियमितता भएको आशंका ब्यक्त गरे । आइतबार अनेराश्ववियुका जिल्ला अध्यक्ष रामबहादुर केसीले अक्सिनज प्लान्ट भनि झुक्याएर कन्सन्ट्रेटर ल्याइ लाखौं रकम घोटाला भएको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी दिएका थिए ।
उजुरी पछि प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवी हुमागाइले स्वास्थ्य कार्यालयका आधा दर्जन कर्मचारीलाई बोलाएर छलफल गरेकी थिइन । प्रजिअ हुमागाईले घटना छानविन गर्न भन्दै एउटा समितिपनि गठन गरेकी छन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी, शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र एकजना बायोमेडिकल इन्जिनियर सदस्य रहेको छानविन समिति गठन गरिएको छ ।
जिल्ला जनश्वास्थ्य कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले अस्पतालमा जडान गरिएको उपकरणलाई ठेकेदार कम्पनिले अक्सिजन प्लान्ट भएको दाबी गर्दै आएका हुँदा बायो टेक्निकल इञ्जियिनरले मात्रै त्यसबारे स्पष्ट भन्न सक्ने बताए । बायो मेडिकल इञ्जिनियरले नहेर्दा सम्म उपकरण बारे केही भन्न नमिल्ने श्रेष्ठले जानकारी दिए ।
अक्सिजन प्लान्ट खरिद गर्न ४० लाख बजेट बिनियोजन भएको थियो । सल्यानका मनोज प्रधानले एउटा बक्समा ४ वटा कन्सन्ट्रेटर राखेर त्यसैलाई अक्सिजन प्लान्ट भनि झुक्याउने खेल भएको दाबी गर्दै ठूलो आर्थिक अनियमितता भएको जिकिर गरे ।
नेकपा एमालेका नेता तथा कर्णाली प्रदेशका पूर्व मन्त्री प्रकाश ज्वालाले पनि आफ्नो फेसबुक वालमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भइ उद्घाटन भएको कुरा सार्वजनिक गरेका छन् । ज्वालाले कर्णाली प्रदेश सरकारले बिनियोजन गरेको ५८ लाख मध्य करिब ५१ लाखमा उक्त अक्सिजन प्लान्ट स्थापना भएको उल्लेख गरेका छन् ।
ज्वालाले जिल्ला अस्पताल प्रशासनलाई उल्लेख गर्दै ५१ लखमा उक्त मेसिन खरिद गरेको बताएका छन् । प्रधानका अनुसार जिल्ला अस्पतालमा स्थापना गरिएको उक्त कन्सन्ट्रेटरको बजार मुल्य बढीमा ४ लाख सम्म पर्ने दाबी गरे ।
अनलाईन मार्फत पनि सपिङ गर्न सकिने उपकरण भएको हुँदा त्यसको मुल्य अनलाईनमै पनि हेर्न पाइने उनले बताए ।
गत पुस महिनामै कोरोना भाइरसको महामारी नफैलिदै कर्णाली प्रदेश सरकारले प्रदेशका प्राय सबै जिल्लाहरुमा अक्सिजन प्लान्ट खरिदका लागि भनेर ५०÷६० लाख बजेट बिनियोजन गरेको भएपनि अन्य जिल्लाहरुमा समेत यस्तै बदमासी भएको हुँदा ठूलो आर्थिक अनियमितता भएको प्रधानले जिकिर गरे ।