२०८३ बैशाख २७ गते आइतवार

एमाले दाङको सक्रियता : प्रत्येक दिन २५ सिलिण्डर अक्सिजन ग्यास उपलब्ध गराउने

दाङ जेठ १ । अक्सिजनको अभावमा उपचारमा समस्या भइरहेको समयमा नेकपा एमाले दाङले अक्सिजनको अभाव कम गर्न अभियान थालेको छ । जिल्लाका अस्पतालमा अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाइरहेको समाचार सार्वजनिक भएपछि अक्सिजनको अभाव कम गर्न एमाले दाङले अभियान सुरु गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।

अक्सिजनको अभावमा नागरिकहरु छटपटाइरहेको पीडा सहन नसकी अभियान सुरु गरेको भन्दै जिल्ला सचिव बुढाथोकीले पहिलो चरणमा दैनिक २५ सिलिण्डर अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिए ।

‘अक्सिजनको अभावमा उपचारमा समस्या भइरहेको समाचार सुनेर नेकपा एमाले दाङले अक्सिजन उपलब्ध गराउने अभियानको सुरुवात गरेको छ’, सचिव बुढाथोकीले भने, ‘विगत ३ दिनदेखि हामीले दैनिक २५ सिलिण्डर अक्सिजन उपलब्ध गराइरहेका छौं । यो संख्या बढाएर लैजान्छौं । हाम्रो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’

सोनापुर सिमेन्ट उद्योगको सहयोगमा अक्सिजन सहयोग गर्दै आएको भन्दै सचिव बुढाथोकीले अक्सिजनको ढुवानीका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमराज बञ्जाडेले गाडी उपलब्ध गराएको जानकारी दिए ।

‘हाम्रो आग्रहलाई स्विकार गरी सोनापुर सिमेण्ट उद्योगले दैनिक २५ सिलिण्डर अक्सिजन उपलब्ध गराउँदै आएको छ, भने ढुवानीका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जिल्लाका प्रतिष्ठित व्यवसायी हेमराज बञ्जाडेले गाडी उपलब्ध गराउनुभएको छ’, सचिव बुढाथोकीले भने, ‘अक्सिजनका लागि प्रदेश सरकारसँग अनुरोध गरेका छौं ।’

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *