
काठमाडौं, बैशाख ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार पुनः प्रधानमन्त्री नियुक्त भएका छन ।
यो सँगै ओली मुलुकको ४२ औं प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भएको तीन दिनमै फेरि ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
वैशाख २७ गते प्रतिनिनिधिसभामा ओलीले विश्वासको मत गुमाएका थिए । त्यसपछि उनी पदमुक्त भएका थिए।
त्यसपछि राष्ट्रपतिले दलहरुलाई सरकार बनाउन आह्वान गर्दै तीन दिनको समय सीमा दिएकी थिइन ।
उक्त समयसीमाभित्र कांग्रेस–माओवादीलगायत दलले वैकल्पिक सरकार निर्माण गर्न बहुमत जुटाउन नसकेपछि ठूलो दलको हैसियतमा फेरि ओलीलाईनै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेकी हुन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरे पनि अन्तिम समयमा आएर नेकपा एमालेको खनाल–नेपाल पक्षले असहयोग गरेपछि वैकल्पिक सरकार बनाउने योजना बिफल भएको हो ।
बैशाख २७ गते राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो । उक्त समय भित्र धारा ७६ (२) अनुसार कसैको पनि दाबी नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ।ओली यसअघि २०७५ जेठ १४ गते प्रधानमन्त्री बनेका थिए।