रुपन्देही, बैशाख १२ । रुपन्देहीमा सवारी दूर्घटनामा परि दुई बालिकाको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत कोटिहवामा आइतबार दिउँसो भएको दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा १५ की १० वर्षीया बालिका सरस्वती हरिजन र ८ वर्षीया गंगा हरिजनको मृत्यु भएको छ ।
उक्त दूर्घटनामा परि थप ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जन्ति बोकेर भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९६८५ नम्बरको बसलाई सोही दिशामा आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिदा उक्त दूर्घटना भएको प्रहरीले बताएको छ ।
टिपरको ठक्करबाट सन्तुलन गुमाएको बसले जन्ती बोकेकै अर्कौ लु १ ख ५७८८ नम्बरको बसलाई ठक्कर दिदा त्यो बसपनि अनियन्त्रित भएर लु २ च ७०७२ नम्वरको बलेरोमा ठोक्किन पुगेको थियो ।
दुर्घटनाका घाइते मध्य टिप्पर चालकको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र अन्य ५ जनाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।