तुलसीपुर,बैशाख १० । राष्ट्रिय जनगणना २०७८ को तयारीका लागि दाङमा ७ वटा पालिकामा कार्यालय स्थापना गरिएको छ ।
‘मेरो गणना मेरो सहभागिता’ भन्ने सन्देशका साथ १२ औं जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ ।
जिल्लामा जनगणना २०७८ सफल पार्न १० वटा पालिका मध्ये ७ पालिकामा कार्यालय स्थापना भइसकेको छ ।
स्थानीय जनगणना कार्यालय तुलसीपुरका प्रमुख बाबुराम न्यौपानेले जिल्लाको लमही नगरपालिका र राप्ती गाउँपालिकाको लागि लमहीमा जनगणना कार्यालय स्थापना गरिएको छ ।
त्यस्तै गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको लागि गढवामा,बंगलाचुली गाउँपालिका र घोराहीको लागि घोराही उपमहानगरपालिकामा २ वटा कार्यालय स्थापना गरिएको छ ।
त्यस्तै बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाको लागि बबईमा कार्यालय स्थापना गरिएको छ । दंगिशरण गाउँपालिका र तुलसीपुरको केही भागको लागि दंगीशरणमा कार्यालय स्थापना गरिएको छ ।
त्यस्तै तुलसीपुरको लागि तुलसीपुर उपमहानगरपालिकामा जनगणना कार्यालय स्थापना गरिएको प्रमुख न्यौपानेले बताए ।
उनले ७ वटै पालिकामा स्थानीय जनगणना समन्वय समिति गठन गरिएको जानकारी दिए ।
स्थानीय जनगणना कार्यालय तुलसीपुरले शुक्रवार तुलसीपुरमा आयोजना गरेको सचेतना गोष्ठि कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै न्यौपानेले प्रत्येक १० वर्षमा एक पटक हुने राष्ट्रिय जनगणनाको १२औं सृङ्खलामा प्रवेश गरेको बताए ।
राष्ट्रिय जनगणना २०७८ देशभरका सबै घरघरमा पुगेर प्रत्येक घर,परिवार र व्यक्तिको विवरण संकलन गर्ने एक बृहत राष्ट्रिय तथ्याङ्क संकलन गर्ने कार्यक्रम हो ।
जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सुचिकरण कार्य २०७८ बैशाख २६ देखि जेठ १४ सम्म र दोश्रो चरणमा मुख्य प्रश्नावलीको बिस्तृत बिवरण संकलन कार्य २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन गरिदै छ ।
त्यस्तै जनगणनालाई छिटो, छरितो र विश्वसनिय बनाउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिएको छ ।
ऋहिले जनगणनामा विगतको प्रश्नावली भन्दा वडामा गएर सुपरीवेक्षकले सामुदायिक प्रश्नावली समेत सोध्ने भएका छन् ।
जसमा वडा ,गाउँटोल नाम , मुख्य र गैर कृर्षि उपज , वडाको राजश्व स्रोत , जातजाति , मातृ भाषा , आर्थिक पुर्वाधार र विपदको अवस्था र बर्षभरी विपदका कारण मृत्यु भएका र वालिनाली क्षति जस्ता प्रश्नावलीहरु समेत समेटिएको छ ।
जनगणनाको लागि तुलसीपुरमा करिब २ सय जना गणक रहने छन भने ६० जना बढी सुपरीवेक्षक खटाइने छ ।
स्थानीय जनगणना समन्वय समिति तुलसीपुरका संयोजक भाष्करराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुरका प्रमुख घनश्याम पाण्डेले जनगणनालाई सफल बनाउन आम नागरिकको महत्वपुर्ण भुमिका रहने बताए ।
राष्ट्रिय जनगणना २०७८ मा नेपाल भर अनुमानित ७० लाख घरपरिवार रहेको र यसबाट ३ करोड जनसंख्या पुग्ने अनुमान गरिएको छ ।