
तुलसीपुर, बैशाख ३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बेलझुण्डीस्थित रंगशाला भित्रको खेल मैदानको दुबोमा पानी चार्न सुरु भएको छ ।
सरोकारवाला निकाएहरुको बेवास्ताका कारण यसअघि पानी सिंचाई नपाउँदा लाखौं मुल्यमा किनेर भारतबाट ल्याइ रोपको बरमुडा दुबो सुक्ने अवस्थामा पुगिसकेको थियो । त्यो खवर सार्वजनिक भएपछि खेल मैदानमा रोपिएको दुबोमा पानी चार्न थालिएको हो ।
पानी पाएपछि फेरि खेल मैदानको दुबो हराभरा हुन थालेको छ ।
यसअघि लामो समयदेखि सिंचाई नपाउँदा खेल मैदानको दुबो सुक्दै गएको थियो । जसले गर्दा सुन्दर संगशाला उजाड जस्तै देखिन थालेको थियो ।

राष्ट्रिय खेलकुद परिषद दाङ शाखाकी कार्यालय प्रमुख पद्मा चौधरीले एक हप्ता अगाडिदेखि सिंचाई सुरु भएको र फेरि दुबो हराभरा हुन थालेको भन्दै खुसी साटिन ।
उनले अब छिट्टै दूई बोरा यूरिया मल छर्न लागेको जानकारी दिइन । चौधरीका अनुसार रंगशाला निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले हाल खेल मैदानको दुबोमा सिंचाई गरिरहेको छ । त्यसका लागि ठेकेदार कम्पनीका कार्यालय सहयोगी खटिएका छन् ।
जिल्ला खेलकुद विकास समिति र रंगशाला निर्माण गर्ने ठकेदार मिलेर सिंचाईको प्रबन्ध मिलाइएको चौधरीले जानकारी दिइन ।
यसअघि बिद्युतलाई तिर्नुपर्ने झन्डै एक लाख ३३ हजार बक्यौता नतिर्दा रंगशालामा बिजुली बत्तिको लाईन काटिएको थियो ।
बिद्युतले बत्ति काटेको लामो समय बिति सक्दापनि सरोकारवाला निकायहरुले कुनै चासो दिएका थिएनन् ।
त्यो खवर सार्वजनिक भएपछि बल्ल उनीहरु बिद्युत बक्यौता तिर्न र रंगशालाको खेल मैदानमा पानी चार्नका लागि तयारी गरेका हुन । बिद्युत बक्यौता तिर्न हाललाई ठेकेदार कम्पनीले सापटी स्वरुप ९६ हजार रकम सहयोग गरेको र बाँकी रकमपनि छिट्टै बुझाउने तयारी गरिएको राखेप दाङ शाखाकी कार्यालय प्रमुख चौधरीले बताइन ।
उनले आफु कार्यालय प्रमुखका रुपमा आउना साथ रंगशालाको अबस्था सुधारमा ध्यान केन्द्रित गरेको उनले दाबी गरिन ।
यसअघि जिल्ला खेलकुद विकास समितिले ठेकेदार कम्पनीलाई र ठेकेदार कम्पनीले खेलकुद विकास समितिले दुबोमा पानी चार्नुपर्ने दाबी गर्दै आएका थिए । गर्मी दिनमा खेल मैदानको दुबोमा पानी चार्नका लागि भनेर रंगशाला परिशरमै डिप बोरिङ निर्माणदेखि अन्य सबै संरचना तयारी अवस्थामा छन् ।
ठेकेदार कम्पनीले रंगशाला हस्तान्तरण नगरेको हुँदा पानी चार्ने दायित्व उस्कै भएको राखेपको दाबी थियो भने रंगशालामा राष्ट्रिय प्रतियोगिता समेत सम्पन्न भइसकेको हुँदा अब त्यो जिम्मा राखेपको हुने निर्माण कम्पनीको दाबी जिकिर थियो । निर्माण कम्पनीले भुक्तानी सबै नपाएको भन्दै रंगशालामा आफै ताल्चा लगाउँदै आएको छ ।
यसैबीच राखेप दाङ शाखाकी कार्यालय प्रमुख चौधरीले लुम्बिनी प्रदेश सरकारले रंगशाला परिशरमा लगाएको प्रेदश स्क्स्पो कारण रंगशालाको नाममा धेरै बिद्युत बक्यौता निस्किएको हुँदा त्यो बक्यौता उसैले तिर्नुपर्ने दाबी गरिन ।
बेलझुण्डीमा रंगशाला परिशरमा प्रदेश सरकारले २०७६ मा प्रदेश स्क्स्पो लगाएको थियो ।
यो रंगशालामा २०७५ चैत २६ गतेदेखि सरु ८ औं राष्ट्रिय महिला फूटबल प्रतियोगिता बैशाख ११ सम्म चलेको थियो । यो रंगसालामा फूटवल सटफूट, ज्याभ्लिङ थ्रो, ह्यामरिङ, लङ जम्प, हाइजम्प, त्रिपल जम्प लगाएत एथेलेटिक्सका समेत गरि विभिन्न १४ वटा खेलहरु खेल्न सकिन्छ ।
बेलझुुण्डी रंगशाला २४ करोड २४ लाख बढी लागतमा दिवा एमए प्रतिष्ठा जेभिले निर्माणको जिम्मा पाएको भएपनि काम भने एमए कनष्ट्रक्सनले गरेको हो ।
