पोखरा, बैशाख २ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टी (जसपा) का २ सांसद गरी २८ जना सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरूङविरूद्ध बिहीवार दिउँसो अविश्वास प्रस्ताव दर्ता भएको हो ।
अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेको भएपनि राष्ट्रिय जनमोर्चाले समेत मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्तावको समर्थन गर्ने जनाएको छ ।
जसले गर्दा २७ सांसद मात्रै रहेको नेकपा एमालेको नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ। यो संगै गण्डकीमा एमालेको सरकार ढल्ने निश्चित बनेको छ ।
अविश्वासको प्रस्ताब दर्ता हुनुभन्दा केही समय अघि मात्रै नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । गण्डकीमा नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने कसरत सुरु गरि सकेको छ ।
