बुटवल, चैत २७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्ने बताएका छन् ।
शुक्रवार बुटवलमा पार्टीको चौथो राष्ट्रिय सम्मेलनका निर्णय र निर्वाचित केन्द्रीय पदाधिकारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले ओलीलाई नहटाए सम्म मुलुकले निकास पाउन नसक्ने तर्क गरे ।
‘फेरि संसद विघटन गरेर देशलाई मध्यावधि चुनावमा लैजाने खेल शुरु भएको छ,’ अध्यक्ष केसीले भने ‘ अब त्यसलाई रोक्न ओलीलाई हटाएर वामपन्थीहरुको सहकार्यमा सरकार गठन गर्न जरुरी छ ।’
अध्यक्ष केसीले प्रधानमन्त्री ओलीको असफलताका कारण नेपालमा बाह्य शक्तिको चलखेल बढेको बताए । बिदेशी शक्ति गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्था सिध्याउने गरी लागेको उनको आरोप थियो ।
त्यस्तै उनले जवरजस्त एमसिसी ल्याउन अमेरिकाले नेपालको परराष्ट्र नीति भत्काउन खोजेको र चीन बिरोधी अखडा बनाउन खोजेको आरोप लगाए । उक्त पार्टीको सम्मेलनले अध्यक्षमा पुन केसीलाई नै निर्वाचित गरेको छ ।