काठमाडौं, चैत २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा माओवादी केन्द्रले समर्थन जनाएको छ ।
शुक्रबार देउवा निवास बुढानिलकण्ठमा भएको तीन दलको छलफलमा माओवादी केन्द्रले देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाएको हो ।
तीन दलको बैठकमा जनता समाजवादी पार्टीले भने स्पष्ट निर्णय दिन सकेन । उस्ले थप समय मागेको छ । देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्दा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पार्टीमा छलफल गर्नुपर्ने भन्दै समय माग गरेको नेपाली काँग्रेसका एक नेताले बताए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ सामेल थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव, नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।
उक्त छलफलमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मापनि बैठकमा सहभागी थिए।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले चैत २० नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको थियो । त्यस्तै काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय पनि गरेको थियो।