काठमाडौं, चैत १४। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।
जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुका निधन भएको हो। गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि जोशीलाई उपचारको लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वर्गीय जोशीप्रति सम्मान प्रकट गर्दै शोकका कार्यक्रमहरू पनि तय गरेको छ।
– २०७७ चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने, उक्त दिनहरूमा शोकका कार्यक्रमहरूबाहेक पार्टीका अरू औपचारिक कार्यक्रमहरू नगर्ने।
– २०७७ चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरू बन्द गर्ने, १३ औं दिन सम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने ।
– १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने कार्यक्रम निर्धारण गरेको छ।