
काठमाडौं, चैत १३।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। ५७ वर्षीय जोशीलाई गत फागुन १४ गते मस्तिष्कघात भएको थियो।
मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पतालले पुष्टि गरेको छ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा शुक्रबार बिहानदेखि नै जोशीको मुटुले काम गर्न छाडेको उल्लेख छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। अस्पतालका सञ्चार तथा जनसम्पर्क अधिकृत सोमनाथ बाँस्तोलाले जोशीको निधन भएको बताए।
जोशीको उपचारमा सबै प्रयास जारी राखिएकै अवस्थामा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डाक्टर झाले बताएको विज्ञप्तिमा उल्लेख छ। जोशीको श्रीमती र एक छोरी छन्।
प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
