२०८१ बैशाख १३ गते बिहिवार

आस्थाका आधारमा होइन क्षमताका आधारमा पत्रकारलाई मुल्याङकन गर्न जरुरी छ – दीपक गिरी

तुलसीपुर, चैत ७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आस्थाको आधारमा नभई दायित्व र क्षमताको आधारमा श्रमजिबी पत्रकारको मुल्याङकन र सम्मान गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रेस यूनियन दाङको आयोजनामा तुलसीपुरमा शुक्रवार भएको विभिन्न क्षेत्रमा निर्वाचित तथा मनोनित पत्रकारहरुलाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गदै नेता गिरीले सो कुरा बताएका हुन ।पूर्व मन्त्री समेत रहेका गिरीले मिडियाको हरेक क्षेत्रमा ठूलो भूमिका रहने भन्दै समय सापेक्षरुपमा मुलुकको विकास र लोकतन्त्र रक्षाका लागि मिडियाले सदैब खवरदारी गर्नुपर्ने बताए ।

गिरीले पत्रकारले मात्र नभइ हरेक श्रमजिबीले कामको मुल्य पाउनु पर्ने जोड दिए । ‘ श्रमको फल, मेहनतको फल सबैले पाउनु पर्छ,’ गिरीले भने ‘ झनै देशको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा काम गर्ने पत्रकारहरुले श्रमको मुल्य समय नपाउने परिपाटीको अन्त्य हुनुपर्छ ।’
त्यस्तै उनले समय अनुरुप मिडियाहरुले प्रबिधिको विकाशमा ध्यान दिन जरुरी रहेको बताए ।

‘कुनै दिन थियो, रेडियो बोक्ने र गलबन्दी लगाउनेहरु स्मार्ट कहलिन्थे, समाजमा ठूलो कदर हुने गर्दथ्यो,’ नेता गिरीले अगाडि भने ‘ आज त्यो असान्दर्भिक भइसकेको छ । आज हातहातमा मोवाई इन्टरनेट उपलब्ध छ ।’त्यसैगरी समय सापेक्षरुपमा मिडिया हावसहरुले आफुलाई प्रबिधिमैत्री बनाउन सक्नु पर्ने उनले सल्लाह छ ।

उनले पत्रकारहरुले निष्पक्ष भएर देश र जनताको हितमा कलम चलाउनुपर्ने बताए । नेपाल जस्तो अबिकसित देशमा धेरै चुनौतिहरु रहेको भन्दै उनले कलमजिबीले ती समस्या चिर्दै देश र जनताको हितमा काम गर्न जरुरी रहेको उनको भनाई थियो । तर उनले पित पत्रकारिता रोक्न प्रयास गर्न समेत आग्रह गरे । ‘ तपाँईहरु भित्रकै एक दूई जनाले गर्दा राम्रा पत्रकार र पत्रकार संस्थाहरुको समेत नाम मुछिनु हुन्न,’ उनले भने ‘ पित पत्रकारिता गर्नेहरुलाई तपाँईहरुले रोक्नु पर्छ । कारबाही गर्नुपर्छ ।’

कार्यक्रममा नेपाली काँग्रेस राष्ट्रिय सभाकी प्रमुख सचेतक सदस्य अनिता देवकोटाले हालको सरकारले मिडियामा अंकुश लगाउन प्रयास स्वरुप विभिन्न मिडिया विद्येयकहरु ल्याएको भएपनि पत्रकार र नेपाली काँग्रेसको खखवरदारीले सरकार ब्याक भएको उनले बताइन ।

नेतृ देवकोटोले काँग्रेस प्रेस स्वतन्त्रता र बिधिको साशनको लागि जहिले पनि लडिरहने बताइन । देवकोटाले पत्रकारहरुको पहुँच वृद्धि गर्न मिडिया हाउसहरुले भूमिका खेल्नु पर्ने बताइन ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सदस्य शंकर गिरी र अर्जुन श्रेष्ठले अहिलेको सरकारले मिडिया कर्मीहरुले खेलेको भूमिको मुल्याङ्गकन र सम्मान गर्न नसकेको बताए । उनीहरुले समाज परिवर्तनका लागि पत्रकारहरुको ठूलो भूमिका रहेको भन्दै ती पत्रकारलाई राज्यले पनि सम्मान गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रेसयुनिय दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बदलिदो परिवेश संगै सामुदायिक रेडियोहरु पनि अगाडी बढ्ने बताए ।उनले समय अनुकुल सामुदायिक रेडियो र पत्रकारको विकाशमा लाग्ने उनले स्पष्ट पारे । ‘ हामी इमान्दारी पूर्वक सामुदायिक रेडियोहरुको हकहितमा समर्पित भएर काम गर्ने छौं,’ अध्यक्ष गिरीले भने ‘रेडियोमा काम गर्ने पत्रकारको क्षमता विकाश र प्रबृधिमा हामी अर्जुन दृष्टि लगाएर काम गर्ने छौं ।’

रेडियोहरु कर्मीहरु सहर मुखि मात्रै नभएर ग्रामीण भेगमा पनि सूचना संकलनका लागि पुग्न जरुरी रहेको उनले जोड दिए । कार्यक्रममा प्रेस काउन्सीलका केन्द्रीय सदस्य शरद अधिकारीले सञ्चारकर्मीहरुको हकहितका लागि काउन्सिलले पनि भूमिका नखेलेको भन्दै अव त्यसका लागि आफुले पहल थाल्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य केपी घिमिरे, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई, मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष शुसिल बस्नेत, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लिला शाह, नेपाल प्रेस यूनियन दाङका सल्लाहकार बसन्धरा गौतमलगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण प्रेस यूनियन दाङका सचिव आरके सितलले गरेका हुन । कार्यक्रममा विभिन्न संघ संस्थाको नेतृत्वमा पुगेका बिभिन्न पत्रकारहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *