२०८१ बैशाख ७ गते शुक्रवार

काँग्रेस आँफै अन्यौंलमा रहेकाले नेपालको राजनीति अन्यौंल तिर गयो – रामचन्द्र पौडेल


तुलसीपुर, चैत ५ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस अन्यौंलमा रहेकोले नेपालको राजनीति अन्यौंल तिर गएको बताएका छन् । बिहीवार दाङको तुलसीपुरमा प्रजातन्त्रका सेनानी पूर्व राष्ट्रिय पञ्चायतका सदस्य लोकमणि गिरीको १३ औं दिनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले काँग्रेस स्वएंम अन्यौंलमा रहेका कारण नेपालको राजनीति पनि अन्यौंलता तिर गएको हो कि भन्ने आफुलाई लाग्ने गरेको बताएका हुन ।

यो अन्यौंलको अन्त्य हुन जरुरी रहेको भन्दै बरिष्ठ नेता पौडेलले आफुले पार्टीमा नीतिगत कुरा बाहेक ब्यक्तिगत कुरा गर्दै नगर्ने दाबी गरे । ‘मैले केन्द्रीय कार्य समितिमा नीतिगत राय नै बझाएको हुँ,’ पौडेलले भने ‘संसद बिघठनलाई असंबैधानिक र अलोकतान्त्रिक भन्दै त्यसको पुनस्थापना हुनुपर्छ भनेर मैले राय बझाएको हुँ ।’

मोही माग्ने ढुँग्रो लुकाउने भने जस्तै गरि काँग्रेसले जिब्रो चपाएर बोल्न नहुने उनले बताए । उनले काँग्रेसले जनताको अगाडि सोझो कुरा बोल्नु पर्ने बताए । सर्बौच्चले संसद बिघटनको मुद्दा खोरज गरेपछि नेपालको संविधान, ब्यवस्था र संसदीय लोकतान्त्रिक प्रणाली जोगिएको पौडेलले तर्क गरे । ‘ आज ब्यबस्था बचेपनि तर, अब यस्लाई बिकृतिबाट बचाउनु छ,’ पौडेलले भने ‘ यो बिघटनबाट त बच्यो फेरि बिकृतिबाट बचाउनु छ । टिकडमहरुबाट बचाउनु छ । षडेन्त्रहरु भइरहेको छ त्यसबाट बचाउनु छ ।’

प्रतिनिधिसभालाई फेरिपनि मार्ने षडेन्त्र भइरहेको छ
दूई दिन अगाडि मात्रै सितल निवासमा प्रधानमन्त्रीले राष्ट्रपति भवनमा ठाडै संसद चलेन भनेको कुरालाई राष्ट्रपतिले प्रकारन्तरणले सपोट गरेको उनले दाबी गरे ।आफु संसको नेता भएर आफुले राम्रो संग चलाउने र बिजिनेस दिने काम नगर्ने तथा दलहरु संग राम्रो संग छलफल गर्ने काम नगरी प्रधानमन्त्रीले अदालतले पुर्नंस्थापना गरेपनि तर खै, प्रतिनिधिसभा चलेन भनेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई कुरा लाउनु गलत भएको पौडेले बताए ।

‘संसदमा आफु उपस्थित नै नभएर बिजिनेस नै नदिएर यसो देखिएर सदन सुरु हुनु भन्दा अगाडि नै निस्कदै हिड्दै गर्ने अनि उसैले संसद चल्न सकेन भनेर भन्ने,’ पौडेलले प्रश्न गरे ‘ अब फेरि जनादेशमै जानु पर्छ भनेर प्रधानमन्त्रीले भन्ने र जनादेश त राम्रै प्रजातान्त्रिक अभ्यास हो नि भनेर राष्ट्रपतिले थपथाप गर्दै सही थाप्न मिल्छ ? यो षडेन्त्र हो ।’

प्रतिनिधिसभालाई फेरिपनि मार्ने षडेन्त्र भइरहेको भन्दै उनले बिघटनबाट सदन बचेपनि अब बिकृतिबाट सदन जोगाउन जुरुरी रहेको बरिष्ठ नेता पौडेलले तर्क गरे । सत्ता भन्दा ब्यबस्था ठूलो भएको भन्दै उनले अहिले ब्यबस्था बचाउनु ठूलो सवाल भएको बताए । उनले सत्ता भन्दा व्यवस्थालाई महत्व दिन आग्रह गर्दै आएको बताए ।

‘ब्यबस्था रह्यो भने सत्ता त आइरहन्छ । खेत रह्यो भने बालि त अर्कौ सालपनि आउँछ,’ उनले भने ‘ खेतै गयो भने बालि कहाँबाट आउँछ ? त्यसैले यो ब्यबस्था बच्नु पर्छ ।’ब्यबस्था जोगाउन सकियो भने मात्रै लोकतन्त्रका लागि बलिदान भएका अग्रजहरुको सम्मान हुने उनले बताए ।

उनले पार्टीकै साथीहरुले किन बिवाद गर्ने, किन बाहिर बोल्ने भन्ने ढंगले कुरा गर्नु उचित नभएको धारणा राखे । ‘बसेर बोल्दा कसैले सुन्दैन उठेर बोल्दा हावाले लान्छ भने जस्तै छ,’ उनले प्रश्न गरे ‘ कार्यसमितिमा बोल्दा सुन्या नसुनेझैं गर्ने, बुढानिलकण्ठमै गएर बोल्दा वास्ता नगर्ने भएपछि तपाँई कहाँ आएर नबोलेर कहाँ बोल्ने छ ?’

अन्यौंलको राजनीति चिर्णे जिम्मेवारी नेपाली काँग्रेसको भएको भन्दै उनले लोकतन्त्रको आँकाशमा मडारिएको कालो बादल फाँड्ने जिम्मेवारी काँग्रेसकै भएको जिकिर गरे । उनले भने –‘नेपाली काँग्रेसले जिम्मेदारी लिदैन भने, नेपाली काँग्रेसले यो अन्यौंललाई फाँड्ने प्रयत्न गर्दैन भने, नेपाली काँग्रेसको नेतृत्व किमकतब्र्यबिमुढ भएर बस्छ भने नेपाली काँग्रेसका कार्यकर्ता बोल्ने कि नबोल्ने ? नेपाली काँग्रेसका कार्यकर्ताले बोल्नु पर्छ, यो बाध्यता भएको छ । त्यसो भएर म बोलिरहेको छु । मेरो कुरा सोझो र सरल हुन्छ मलाई जाली कुरा गर्न आउँदैन ।’

उनले फेरि पनि आगमी निर्वाचनमा एमाले संगै चुनाब लड्नुपर्ने दिन आउने स्पष्ट पार्न चाहे । कम्युनिष्ट पार्टी नफुटेको तर्क गरेका पौडेलले कम्युनिष्ट पार्टी फुट्यो भनेर मख्ख नपर्न आग्रह गरे । कम्युनिष्ट पार्टी जस्ताको त्यस्तै रहेको भन्दै उनले नेपाली काँग्रेसले चुनाब एक्लै लड्नु पर्ने बताए । पौडेलले भने – ‘कम्युनिष्ट पार्टी भनेको एमाले र एमाले भित्र पनि केपी गुट हो र लडाई हाम्रो उही संग हो ।’

उपचुनाबमा दाङमा पनि काँग्रेसले हारेको प्रशंग उल्लेख गर्दै उनीहरु आजपनि कम्युनिष्टमै रहेको हुँदा आगामी चुनाबमा पनि लडाई उनीहरु संगै हुने आशय व्यक्त गरे । ‘अरुको घर भत्किएर आफु बलियो हुन्छ भन्ने यो नादान सोच राख्नु हुँदैन,’ उनले भने ‘ आफ्नो घर बलियो बनाउनु पर्छ । आफ्नो घरको धुरी कहाँ नेर चुहिएको छ, कहाँ नेर झ्याल भत्केको छ , कहाँ नेर ढोका कर्केको छ त्यो कुरा हेर्नु पर्छ ।’
उनले आँखा चिम्लेर ब्यक्ति पूजा नगर्न पनि आग्रह गरे । ‘ब्यक्ति पूजा लोकतन्त्र हैन,’ उनले भने ‘लोकतन्त्रमा कोही व्यक्ति सर्बेसर्बा हुन्न ।’लोकतन्त्रमा सबै बराबर हुने उनले बताए ।

भने – ‘लोकतन्त्र भित्र बराबरको बीचमा पहिलो दोस्रो मात्रै हुन्छ, तर कोही सर्बेसर्बा हुँदैन।’उनले पार्टीले कतब्र्य पुरा गर्ने ठाउँमा चुकेमा कार्यकर्ताले बोल्नु पर्ने र आवाज उठाउनु पर्ने बताए । ‘तपाँई बोल्नु भएन भने गल्ती झन हुँदै जान्छन् , गल्ति दोहरीदै जान्छन् र तपाँई तल तल भासिदै जानु हुन्छ,’ बरिष्ठ नेता पौडेलले भने ‘ त्यसैले गल्तिलाई समयमा सच्याउन बोल्न जरुरी छ ।’

कम्युनिष्टहरुले आत्मआलोचना गर्दै गल्ति दोहो¥याउने गरेको र काँग्रेसले गल्ति गरेपछि ढाकछोप गर्दै फेरि गल्ति गर्ने गरेको हुँदा ढाकछोप बाट पार्टी बलियो नहुने उनले बताए । ‘कम्युनिष्ट बढेका होइनन् बरु काँग्रेस घटेको भएको हो,’ पौडेलले भने ‘ कम्युष्टि कहाँ बढ्या छन्, कहाँ छ कम्युनिज्म, यो त काँग्रेस घट्यो र उनीहरु बढेको देखिएका हुन ।’

काँग्रेस किन घट्यो, काँग्रेस किन कमजोर भयो भनेर आत्मसमिक्षा गर्दै सुधार गरि अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।

‘ नेताले मुल्याङकन गरेन मात्रै नभन्नुहोस कार्यकर्ताले पनि नेताको मुल्याङकन गर्ने हैसियत बनाउनुहोस,’ उनले भने ‘ त्यो क्षमता नराख्ने हो भने नेता त निरुङकुश भइहाल्छ नि ।’

उनले प्रभूपनि स्वतन्त्र भएपछि मनलागी गर्छन भन्ने कुरा आफुले पढेको भन्दै स्वतन्त्र हुन कोही पनि नेतालाई अवसर दिन नहुने उनले तर्क गरे । नेपाली समाजलाई लोकतान्त्रिककरण गर्ने जिम्मेवारी नेपाली काँग्रेसको भएको भन्दै उनले त्यसका लागि सबैभन्दा पहिले नेपाली काँग्रेस आँफै भित्र लोकतान्त्रिककरण हुन जरुरी रहेको धारणा राखे ।

पौडेलले भने ‘लोकतान्त्रिक काँग्रेस बनाँउ यो अलोकतान्त्रिक काँग्रेसले लोकतन्त्रको रक्षा गर्दैन ।’ आज देशलाई लोकतान्त्रिक काँग्रेस चाहिएको उनले दाबी गरे । कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीहरु देबेन्द्र राज पौडेल, रामकृष्ण यादब लगाएत दूई दर्जन बढी बक्ताहरुले मनतब्य राखेका थिए । जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गिय लोकमणि गिरीका छोरा काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले परिवारका तर्फबाट धन्यबाद मनतब्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *