२०७८ बैशाख १ गते बुधवार

जनताको आवश्यकतामा विकासका योजना बनाउनुहोस – अध्यक्ष सेन

सल्यान, चैत्र २ ।सल्यानको कपुरकोटमा योजना निर्माण र कार्यान्वयन प्रक्रिया सम्बन्धि अन्तरकृया कार्यक्रम सोमबार भएको छ ।कार्यक्रममा गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले बस्ति स्तरबाट माग भएर आएको योजना दिगो हुने बताए ।

उनले स्थानीय तहको निर्वाचनाबाट चुनिएका जनप्रतिनिधिको प्रमुख दायित्व जनतालाई उनीहरूको आवश्यकतामा आधारित विकासको प्रत्यक्ष अनभूति दिलाउनु नै हुने बताए ।उनले विकासमा कर्मचारी, नागरिक समाज र जनप्रतिनिधि एकजुट भई काम गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष तिला बुढाले कतिपय योजना र लगानी चौपट भएको आफुहरुले अनुगमनको क्रममा पाएको भन्दै त्यसको सुधारमा गर्नुपर्ने बताइन । उनले आफ्नो संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कामलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष मिनबहादुर सेनले हरेक विकास र योजनालाई दिगो गुणस्तरीय बनाउन हरेक बस्तिबाट जन सहभागिता जरुरी रहेको बताए । योजना शाखाका प्रमुख खगेन्द्रबहादुर शाहीले सबै घरधुरीलाई समस्याको पहिचान, योजनाको छनौट, प्राथमिकता र निर्णय लिने कार्यमा संलग्न गराउन उत्प्रेरित गर्नुपर्नेमा जोड दिए ।

दलित विकास समाज सल्यानको आयोजनामा कपुरकोटमा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजका प्रतिनिधिले सहभागितामूलक विकास सिद्धान्त अनुसार योजना तर्जुमा कार्यान्वयनदेखि अनुगमनलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *