काठमाडौं, फागुन २९ । माधव नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । शनिबार उक्त समूहको केन्द्रीय कमिटी सदस्य र सांसदको भेलाले त्यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय भेलाले महत्वपूर्ण निर्णय गर्ने नेता भीम रावले बताए ।शुक्रबार प्रधानमन्त्री ओलीले एमालेलाई फुटाउने गरी जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए। प्रधानमन्त्री ओलीले गरेको निर्णय विधान र नियमावली विपरित रहेको उनले बताए।
भेलाले प्रधानमन्त्रीको निर्णयको भत्र्सना तथा निन्दा गरेको रावलले बताए ।एमालेको विधान विपरित, नियमावली विपरित, प्रणाली विपरित र कार्यशैली विपरित अध्यक्ष ओलीले काम गरेको रावलले बताए ।
‘त्यो अत्यन्त आपत्तिजनक छ, अवैध र उहाँले जुन प्रकारले घोषणा गर्नुभयो त्यो हाँस्यास्पद पनि छ,’ उनले भने ‘ यसले कुनै विधि, प्रणाली, प्रक्रियाको अवलम्बन गरेको छैन ।’नेता रावलले सर्वौच्च अदालतको फैसला र पार्टीको विधान विपरित अवैध तरिकाले माओवादी (केन्द्र)का नेताहरुलाई एमालेमा मनोनित गरिएको आरोप लगाए ।
माधव समूहको भेलाले केही नेतालाई जिम्मेवारी समेत दिएको छ। प्रदेश नं. १ को इन्चार्जमा भीम आचार्य, प्रदेश नं. २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशको ईन्चार्जमा भीम रावललाई जिम्मेवारी दिएको छ।
त्यस्तै रघुजी पन्तलाई युवा, गोकर्ण विष्टलाई विद्यार्थी, प्रमेश हमाललाई बुद्धिजीवी र योगेश भट्टराईलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।