तुलसीपुर,फागुन २६ ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित कालाखोलामा बुधवारदेखि ऐतिहासिक भोटे मेला सुरु भएको छ । मेलाको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य एवं लेखा समिति संयोजक डिल्लीबहादुर चौधरीले रानीकेक काटेर उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले बिगतमा आफु २५ पैंशा ल्याएर मेला भर्न आउने गरेको स्मरण गरे । ‘म पश्चिश पैंशा लिएर भोटे मेला आउने गर्थे,’उनले भने ‘ त्यो पश्चिश पैंशा अभिभावकबाट पाउन पनि मुस्लिक हुन्थ्यो ।’
उनले बिगतमा भोटे मेला हिमाल, पहाड र तराईका जनताको संगम स्थल रहेको बताए । ‘हिमालबाट भोटेहरु घोडामा स्थानीय उत्पादन ल्याएर बेच्न आउँथे,’ उनले भने ‘ भारतको तुलसीपुरका मानिसपनि आफ्नो उत्पादन बेच्न भोटे मेलामा आउने गर्दथे ।’
त्यस्तै उनले दंगाली जनताले पनि आफ्ना उत्पादनहरु मेलामा बेच्ने गरेको स्मरण गरे । ‘राँगा, बंगुर र सुँगुरको मासु मेलामा प्रसस्त पाइन्थ्यो,’ चौधरीले भने ‘ मेला तत्कालिन समयमा ब्यापारिक प्रमुख थलो बन्ने गर्दथ्यो ।’
त्यस्तै प्रदेशसभा सदस्य चौधरीले भोटे मेला लोप हुदै गएका परम्परागत लोक संस्कृति देशका गहना भएकाले तिनको प्रर्वद्धन र विकासमा लाग्नुपर्ने बताए ।
‘परम्परागत रुपदेखि चलन चल्तिमा रहेका लोक संस्कृति दिनानु दिन लोप भइरहेको अवस्था छ,’ – चौधरीले भने,–‘अब संस्कृति बचाउ र संस्कृत बेच्न सक्ने अभियानमा हामी जुट्यौं भने पर्यटन विकाशमा टेवा पुग्छ ।’उनले प्रत्येक कलाकारहरुले लोक संस्कृति बचाउदैँ संस्कृतिलाई पेसा बनाउन सक्नु पर्ने तर्क गरे ।
‘संस्कृतिको जर्गेना गर्न भोटे मेलामा २÷४ वटा घोडा देखाएर हुदैन,’ चौधरीले भने,–‘अन्य देशहरुले जस्तै तुलसीपुर उपमहानगरपालिकाले नेपालभरीका घोडाहरु जम्मा गरेर मेला महोत्सवहरु आयोजना गरि घोडा दौडको कार्यक्रम गर्नुपर्छ ।’
उनले यस क्षेत्रलाई घोडा पाल्ने पेशा बनाउन सके दाङ जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा राखे । भोटे मेला लाग्दै आएको कालाखोलालाई व्यापारको संगम बनाउन स्थानीय सरकार लागेमा आफुले प्रदेश सरकारबाट पहल गर्ने चौधरीले प्रतिबद्धता समेत व्यक्त गरे ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमा उपमहानगरपालिकाकी उपप्रमुख माया शर्माले स्थानीय पर्यटन प्रर्वद्धनका लागि भोटे मेलाले बिशेष भूमिका खेल्ने बताइन ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले भोटे मेलाको पुर्नजन्म भएको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा घोडा दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो । त्यसपूर्व विभिन्न संघ संस्था,टोल विकाश सस्थाहरुले झाँकी जुलुससहित ¥यालीको आयोजना गरेका थिए ।
कार्यक्रममा राप्तीको चिनारी मानिने मौलिक सोरठी नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा लोकदोहरी गायक खड्क बुढा र लिलावती बुढाले आफ्ना प्रस्तुती राखेका थिए । रानीघाट युवा क्लवका सचिव डिल्लीराज भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मेला सांस्कृतिक समिति संयोजक दिपक कुमालले गरेका थिए ।
तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना तथा रानीघाट युवा क्लवको सहआयोजना र तुलसीपुर वडा नं. ७ को संरक्षकत्वमा ऐतिहासिक भोटे मेला ब्यूँताउने उदेश्यका साथ मेला आयोजना गरिएको हो । फागुन २६ गतेबाट सुरु भएको मेला चैत २ गतेसम्म चल्ने छ ।
साथै मेलाको दोश्रो दिन बिहीवार लोकदोहरी गायक चन्द्र शर्मा, गायक गायक दुर्गेस थापा, हाँँस्य कलाकार कमल गाँउले लगाएत स्थानीय कलाकारहरुको प्रस्तुती रहने मेला आयोजक समितिले जनाएको छ ।
सबै तस्विर : राजेश खत्री