चेतन रेग्मी ÷ निराजन डाँगी
तुलसीपुर, फागुन २३ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले स्वर्गिय लोकमणि गिरीको पार्टीको झण्डा ओढाएका छन् ।
आइतवार तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयमा गिरीको पार्थिब शरिरमा नेपाली काँग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्दै उनले सम्मान व्यक्त गरेका हुन ।
त्यसपछि सम्क्षिप्त शोक मनतब्य राख्दै महानमन्त्री कोईरालाले गिरीको निधनले पार्टीले एक कुशल अभिभावक गुमाएको बताए ।

महामन्त्री कोईरालाले स्वर्गिय लोकमणि गिरीको योगदानको पार्टीले सदा स्मरण गर्ने बताए ।
‘उहाँ बीपीको सच्चा अनुयाही हुनुहुन्थ्यो, बीपीबाट प्रभावित भएर उहाँले राष्ट्रियसभा सदस्य भएर संसद भित्रै बहुदलको समर्थन गर्नु भएको थियो,’ महामन्त्री कोईलाले भने ‘बीपीको बीचारबाट प्रभावित उहाँले त्यसपछि पार्टीमा कहिलै आफ्नो लागि केही माग्नु भएन,तर पार्टीलाई संधै सहयोग गरिरहनु भयो।’

महामन्त्री कोईरालाले गिरीको असहमायिक निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको भन्दै लोकमणि गिरीले जस्तै निष्ठा र इमानको राजनीति गर्न आग्रह गरे ।
‘शिशिर ऋतुमा रुखका पातहरु झरेर जान्छन् र वशन्तमा फेरि नयाँ पालुवा पलाउँछन् ।
त्यो प्रकृतिको नियम हो, यसलाई स्वीकार्नै पर्छ,’ महामन्त्री कोईरालाले भने ‘तर, हामीले जहिलेपनि उहाँले जस्तै संधै निष्ठा र इमानको राजनीति गर्नुपर्छ । त्यसले मात्रै काँग्रेस बलियो बनाउँछ ।’

स्वर्गिय गिरीप्रति श्रद्धाञ्जली व्यक्तगर्न नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा. मिलेन्द्र रिजाल, जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का, पूर्व जिल्ला सभापति गेहन्द्र गिरी, प्रदेशसभा सदस्य शंकर गिरी, दाङका काँग्रेस जिल्ला सचिव शंकरप्रशाद डाँगी, तुलसीपुरका मेयर घनश्याम पाण्डे, जिल्लास्थित बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता पुगेका थिए ।
परिवारको तर्फबाट छोरा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले आफ्नो बुवाले प्रजातन्त्रको लागि खेलेको भूमिका र आफुलाई राजनीतिमा लाग्न दिएको प्रेरणाबारे भनाई राखेका थिए ।

स्वर्गिय गिरीको आइतवार नै दंगिशरण गाउँपालिका वडा नं. ४ सुकदेवास्थित पुर्खेउली गाउँमा लगिएर जातिय परम्परा अनुसार समाधि गरिएको छ ।
तर, काजक्रियाको काम भने तुलसीपुरस्थित घरमै हुने भएको छ ।
स्वर्गिय गिरीका तीन छोराहरु मध्य काँग्रेस केन्द्रीय सदस्य दीपक र उनका भाइ ज्वाला गिरी किरिया बसेका छन् ।
स्वर्गिय गिरीका कान्छा छोरा ज्योति गिरी भने अमेरिकामा छन् ।

