तुलसीपुर, फागुन २१ ।बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला इन्चार्ज प्रदीप वलीले आफ्नो पार्टीले संसदीय ब्यबस्था स्वीकार गरेको भन्ने हल्ला भ्रामक रहेको बताएका छन् ।तुलसिपुरको वीपी चोकमा शुक्रवार आयोजित कोण सभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज वलीले पार्टीले संसदीय ब्यबस्था स्विकार नगरेको बरु जिम्मेवारीका साथ वार्तामा सहभागी भएको बताएका हुन ।
उनले अब आफ्नो सबै कृयाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको स्पष्ट पारे ।‘दुबै पक्ष बार्ता र संवाद बाटै देशको राजनैतिक समस्या समाधान गर्न सहमत भएको अबस्था हो,’ उनले भने ‘सरकारले हामी माथिको प्रतिबन्ध खारेज गरेको छ । गिरफ्तार नेता कार्यकर्ताको रिहाइ र झुठ्ठा मुद्दा खारेज गर्ने गर्ने निर्णय गरेको छ । त्यसको हामी स्वागत गर्छौं ।’
कोणसभालाई सम्बोधन गर्दै युबा संगठन नेपाल राप्ती ब्युरो इञ्चार्ज तिलक योगीले बार्ता क्रान्तिको एउटा सचेत कदम भएको बताए ।
उनले सहिदका सपनाहरु पूरा गरि छाड्ने प्रतिबद्धता ब्यक्त गरे । पार्टीले धोका दिन्छ कि भन्ने डर इमानदार नेता कार्यकर्तामा रहेको भन्दै उनले ढुक्क हुन आग्रह गरे ।‘गलत कुरामा हामी कहिलै झुक्ने छैनौं,’ उनले भने ।
तुलसीपुरको बीपी चोकमा आयोजित कोणसभाको सहजीकरण कार्यक्रमको सहजीकरण तुलसीपुर नगर कमिटी इञ्चार्ज अमर खड्काले गरेका थिए ।
नेपाल सरकार र उक्त पार्टीबीच बार्ता सफल भएको खुसियालीमा जिल्लाका बिभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको हो ।उक्त पार्टीका नेता कार्यकर्ताले वार्ता सफल भएको खुसियालीमा सार्वजनिक हुँदा अभिर टिका लगाएका देखिन्थे ।
झन्डै दूई बर्ष अगाडि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएपछि बिप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता भूमिगत सैलीमा आफ्नै गतिबिधि सञ्चालन गर्दै आएका थिए ।