तुलसीपुर,माघ २५ ।तुलसीपुरका तीन स्थानमा आइतबार ट्राफिक डमी स्थापना गरिएको छ । तुलसीपुरको बीरेन्द्र चोक, बसपार्कको पिपल बोट र बाहिनी चोकमा डमी राखिएको हो ।डमी स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिरेन्द्रकुमार शाहले डमीलाई ट्राफिक नै संझेर नियमको पालना गर्न सबैलाई आग्रह गरे ।
ट्राफिक नियम पालनालाई प्रभाबकारी बनाउनका लागि डमी स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जीसीले बताए । यस अघि घोराहीका बिभिन्न १० स्थानमा डमी स्थापना गरिएको र त्यसको सकारात्मक प्रभाव देखिएको उनले जानकारी दिए ।
ट्राफिक प्रहरीको अभावमा पनि डमीको सहायताले ट्राफिक नियम पालना गर्ने कार्यलाई प्रभाबकारी बनाउन सकिने उनको बिश्वास छ । वडाध्यक्ष शाह, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर बिक, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले डमीको अनावरण गरेका हुन । पछिल्लो समय जिल्लामा ट्राफिक व्यबस्थापनको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
जिल्लाका प्रमुख सहरहरुमा अव्यवस्थित रुपमा हुने गरेको पार्किङ व्यवस्थापनमा समेत ट्राफिक प्रहरीले ध्यान केन्द्रित गरेको छ । यद्यपी जिल्लाका प्रमुख सहरहरुमा पार्किङको सुविधा भने छैन । तैपनि प्रहरीले सडकमै चिन्ह लगाएर त्यही पार्किङको ब्यबस्था मिलाएको छ । तर, पछिल्लो समय अण्डरग्राण्ड र पार्किङसहितका भवनहरु बनाउने क्रम सुरु हुन थालेको छ ।