२०८१ असोज ३ गते बिहिवार

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

काठमाडौँ,माघ १५ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् ।

कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् ।

नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताएका छन ।

गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो । इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उनले बताए ।
उनले भने, “४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् । चलेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।” उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी छ ।

इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् ।

भारतीय मजदुर आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको र इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्को बाध्यता रहेको बताए ।

नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभरमा एक हजार ८०० उद्योग रहेका छन् ।

नयाँ ऋणीले सस्तो ब्याजमा ऋण पाए पनि पुरानाले महँगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ । उद्योग नचले पनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता उद्योगसँग रहेको छ ।

उद्योग सञ्चालन गर्न रु दुई करोडदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको भनाइ छ ।

स्थानीय तहहरुले माटो ल्याउन समस्या खडा गर्ने, अनावश्यक कर लगाउने, स्थानीयवासीले प्रदूषणको नाममा अनावश्यक दुःख दिने गरेका कारण पनि यो व्यवसाय प्रभावित भएको छ ।

पछिल्ला वर्षमा प्रदूषणरहित चिम्नी निर्माण गरी इँटा उत्पादन गरिँदै आएको छ ।

यसैबिच कोभिडले दाङभन्दा पश्चिम क्षेत्रमा कम प्रभाव पारेको भए पनि देशका अन्य क्षेत्र पूर्णरूपमा प्रभावित भएको व्यवसायी बताउँछन ।

 

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *