तुलसीपुर,पुस २७ । माघी पर्वलाई लक्षित गर्दै तुलसीपुरमा बजार अनुगमन गरिएको छ ।
सोमवार दिउँसो तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा बजारका खाद्यन्न पसलहरुमा अनुगमन गरिएको हो ।
त्यसक्रममा दैनिक उपभोग्य वस्तुको गुणस्तर, नापतौल बारे सोधि खोजी गरिएको थियो ।
त्यसक्रममा एउटा खाद्य पसलबाट म्याद नाघेको साढे १० केजी मासको दाल जफत गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिइन ।
त्यस्तै अन्य केही पसलबाट म्याद गुज्रेका चकलेट, धुलो खुसार्नी,तितौरा लगाएतका खाद्य सामग्री बरामद गरिएको पनि शर्माले बताइन ।
तर, ती म्याद नाघेका सामाग्री कति मात्रामा कुन–कुन पसलबाट बरामद भएका हुन भन्ने बारे केही खुलाइएको छैन ।
जफत गरिएका सामाग्रीहरु नष्ट गरिने शर्माले जानकारी दिइन ।
सोमवार तुलसीपुर बजारका १२ वटा पसलमा अनुगमन गरिएको थियो ।
त्यसमध्य ४ वटा पसल दर्ता नगरी सञ्चालन गरेको अवस्थामा फेला परेका थिए । ती पसल सञ्चालकलाई ३ दिन भित्र प्रक्रियामा आउन सुझाव दिएको शर्माले बताइन ।
त्यस्तै मूल्य सूचि नटाँसेको, नविकरण नगरेको, बोर्ड नराखेको, किराना पसलमा खाद्यवस्तु र अखाद्यवस्तु अलग–अलग नराखेका व्यवसायीलाई सुधार गर्न मौका दिइएको छ ।
चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्ने हुँदा माघी पर्वलाई लक्षित गरी अनुगमन गरिएको शर्माले बताइन ।
कतिपयले व्यापारीले चाडपर्वमा मात्रै गरिने यस्ता अनुगमनको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।
‘ अनुगमनको नाममा हामीलाई तर्साउन मात्रै आउँछन् ,’ एक व्यवसायीले भने ‘ रिस परेकालाई अनावश्यक दुःख दिन खोज्छन्, घुमाउरो पाराले पैंशा झार्न खोज्छन् ।’
सर्वसाधारण उपभोक्ता भने उपभोक्ता हितका लागि यस्ता अनुगमनहरु चाड पर्वमा मात्रै नभइ समय समयमा हुनुपर्ने बताउँछन् ।