दाङ, असोज २० । दाङ जिल्लाको राप्ती गाउँपालिका मंगलवारदेखि प्रदेश नं. ५ को स्थायी राजधानीको केन्द्र बनेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अस्थायी राजधानी बुटवल तोकिएको थियो । मंगलवारदेखि प्रदेशले स्थायी राजधानीको टुंगो मतदान मार्फत भएको हो । मंगलवार दिउँसो ३ बजेर २० मिनेटदेखि प्रदेशसभाका बहुमत सदस्यले मतदान गरि दाङलाई प्रदेशको स्थायी राजधानी चयन गरेका हुन । दाङको पक्षमा ६९ मत र विपक्षमा जम्मा १३ मत खसेको थियो ।
सभामुख पूर्णबहादुर घर्तीले दिउँसो ३ बजेर ४१ मिनेट जाँदा दाङलाई प्राप्त बहुमतका आधारमा प्रदेश ५ को स्थायी राजधानी भएको घोषणा गरेका हुन । नेकपाले आफ्नो पार्टीका प्रदेश सदस्यहरुलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली दल नेपाली काँग्रेसको प्रदेश संसदीय दलले भने आफ्ना सदस्यलाई विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । तर काँग्रेसकै कतिपय सदस्यहरुले त्यो उलंघन गरेका छन् ।
दाङको राप्ती गाउँपालिकाको भालुवाङ बजार भौगोलिजक दृष्टिकोणले बुटवलदेखि १०० किलोमिटर पश्चिम भागमा पर्छ । यसरी हेर्दा राजधानी १०० किलोमिटर पश्चिममा सरेको छ । प्यूठान, अर्घाखाँची र कपिलबस्तु जिल्लाहरु भने प्रदेशको स्थायी मुकामकै सीमामा पर्छन ।