दाङ,भदौ २३ । अर्घाखाँची जिल्लाका एक जना कोरोना संक्रमित पुरुषको मंगलवार विहान बाँकेमा मृत्यु भएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. १२ निवासी ४२ बर्षीय पुरुषको मंगलवार विहान ९ ः २० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । यो संगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके पु¥याइएका तीन जना संक्रमितहरुको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यसअघि अछाम जिल्लाका एक र कैलालीका अर्का एक कोरोना संक्रमित व्यक्तिको पनि उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको थियो ।यो संगै बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
मृतक पेशाले टिप्पर चालक रहेको र उनी साउन २७ गते टिप्पर दूर्घटनामा परि घाइते भएपछि अस्पताल भर्ना भएका थिए । यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि भर्ना भएका उनको भदौ ४ गते स्वाब संकलन भएको थियो । भदौ ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसपछि यूनिभर्सल मेडिकल कलेज भैरहवाले भिम अस्पताल भैरहवामा रेफर गरेपछि भदौ ५ गतेदेखि ९ गते सम्म उपचार भएको थियो । त्यहाँ केही सुधार भएपछि भदौ ११ गते विहान भिमअस्पतालले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा थप उपचारका लागि रेफर गरिएको थियो ।
विरामीको अवस्थामा सुधार नआएपछि त्यही उपचारका क्रममा उनको मंगलवार विहान मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए । गम्भीर खाले निमोनियाको कारण उनको मृत्यु भएको श्रेष्ठले जानकारी दिएका छन् ।