बुटवल, भदौ २० । रुपन्देहीमा उपचाररत थप दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसन अस्पतालमा नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. २ की ३७ वर्षीया महिला र बुटवल उपमहानगरपालिका वडा नं. ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा भर्ना भएकी महिलालाई शुक्रबार राति भेन्टिलेटरमा सारिएको थियो । उनको शनिबार बिहान ६ बजे मृत्यु भएको छ ।
त्यस्तै बुटवल ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति सवा ११ बजे मृत्यु भएको छ । भदौ १५ गते अस्पतालमा भर्ना भएका उनको चार दिन अगाडिदेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । योसँगै रुपन्देहीमा पछिल्लो ३ दिनमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। जिल्ला भर संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ।