काठमाडौँ,भदौँ १ । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र देखिएको समस्यलाई समाधानका लागि सुझाव दिन कार्यदल गठन गर्नुलाई सकारात्मक समेत भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
कार्यदलले कति समय दिइएको छ भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले छिटोभन्दा छिटो यसले प्रतिवेदन बुझाउने समेत बताए।
गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो।महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल,पम्फा भुषाल,जनार्दन शर्मा,सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेका छन्।
अध्यक्षहरूले कार्यदलबाट प्राप्त सुझावलाई समेत परिमार्जन गरेर सचिवालय या स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने समेत उनले बताए।
केहीदिनभित्र निकास र निश्कर्ष निस्कनेमा विश्वस्त रहेको उनको भनाइ छ।