तुलसीपुर, साउन ३२ । ५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआइजी रविन्द्रबहादुर धानुकले मातहतका १७ वटा कार्यालय प्रमुखहरु संग आइतवार कार्यसम्पादन संझौता गरेका छन् ।प्रदेशका १२ वटै जिल्लाका प्रहरी प्रमुख कार्यालय लगाएत, प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, बाँके खजुरास्थित सशस्त्र प्रहरी गण, प्रदेश ट्राफिक प्रहरी कार्याय बुटवल र नेपाल प्रहरी स्कूल घोराही दाङसहित १७ वटा मातहत कार्यालय संग प्रहरी नायव महानिरीक्षक धानुकले प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यसम्पादन सम्झौता गरेका हुन ।
साउन २५ गते प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुखहरुका बीचमा यस्तै खालको कार्य सम्पादन सम्झौंता भएको थियो । त्यही संझौतालाई टकेर आइतवार प्रदेश प्रहरी प्रमुख धानुकले मातहतका १७ वटा कार्यालय प्रमुख संग संझौंतामा हस्ताक्षर गरेका हुन । संझौतामा नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान, सवारी दूर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकाश, आर्थिक अनुसाशन, पादर्शिता, मानव अधिकार संरक्षण र सामुदायिक केन्द्रीय प्रहरी कार्यहरुलाई प्राथमिकतामा राखेर काम गर्ने भन्ने उल्लेख रहेको छ ।
डिआईजी धानुकले उल्लेखित लक्ष पुरा गर्न प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्य योजनाका साथ पूर्ण लगतसिल र प्रतिबद्धताका साथ परिचालन हुन निर्देशन दिएका छन् । त्यसक्रममा प्रदेश प्रहरी प्रमुख धानुकले बर्षातको समय रहेकाले प्राकृतिक रुपमा आइपर्ने विपदको व्यवस्थापनको लागि उद्धार सामाग्रीसहित जनशक्तिलाई तयारी हालतमा राख्न निर्देशनपनि दिएको प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अग्रपंक्तिमा रहने प्रहरीले कतव्र्य पालनका सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउन पनि निर्देशन भएको एसएसपी बैदवारले बताए ।