काठमाडौं, साउन २७ । रुकुम पश्चिमको सोती हत्या काण्डमा मारिएका ६ जनाका परिवारलाई सरकारले १० ÷ १० लाख प्रदान गर्ने भएको छ ।सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
गत जेठ १० गते बेलुका दैलखवाट केटी भगाउन भन्दै रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडा नं. ९ सोती आएका २१ बर्षीय नवराज विकसहित १८ जनामध्य ६ जनाको हत्या भएको थियो ।सोतीका स्थानीयले लखेट्दै र कुटपटि गरि उनीहरुको हत्या गरेको प्रहरीले बताएको छ । जसमा जाजरकोट भेरी नगरपालिका वडा नं. ४ निवासी वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको मृत्यु भएको थियो । त्यसमध्य थप १२ जना घाइते भएका थिए ।
उनीहरु मध्य नवराजको शव घटना भएकै दिन राति फेला परेपनि अन्यको शव भने विभिन्न समयमा भेरी नदीमा फेला परेको थियो । नवराजले सोती निवासी एक जना १७ बर्षीया मल्ल ठकुरी थरकी किशोरी भगाउन भनेर साथीहरुका साथ पुगेका बेला गाउँलेहरुले घेरा हालेर आक्रमण गरेको प्रहरीले बाएको छ ।
संसदीय छानबिन समिति र विभिन्न तहबाट गठित समितिहरुले उक्त घटना जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेका थियो । घटनाका २३ जना अभियुक्तहरु पूर्पक्षका लागि थुनामा गएपनि अन्य केही भने अझैं फरार रहेका छन् ।