धनगडी, साउन १५ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा मुद्दा खेपेका मध्य आठ जना प्रहरी अधिकारीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको छ। बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित मुद्दा परेका आठै जना प्रहरी अधिकारीलाई सफाइ दिएको हो।
बिष्टसहित सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, प्रहरी कर्मचारीहरू ज्ञानबहादुर सेठी, हरसिंह धामी, रामसिंह धामी, एकेन्द्र खड्का, जगदीशप्रसाद भट्ट, र चाँदनी साउदले सफाइ पाएका छन् ।उनीहरूविरूद्ध निर्मला प्रकरणका प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा पक्राउ परेका दीलिपसिंह बिष्टलाई यातना दिएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो।
उक्त आरोप सावित नभएपछि उनीहरुले सफाइ पाएका हुन । दिलिप सिंहका दाजुले प्रहरीले आफ्नो भाइलाई यातना दिएको भन्दै जाहेरी दिएका थिए। उक्त जाहेरीमाथि अनुसन्धान गरी प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो।
२०७५ साउन १० गते निर्मलाको बलात्कार पछि हत्या भएको थियो । साथीको घरमा पढ्न भनेर गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन । घटनामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय दीलिपसिंह बिष्टलाई पक्राउ गरेको भएपनि निर्मलाको भजाइनल स्वावको नमूनासँग बिष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो।