तुलसीपुर, साउन १३ । प्रक्रिया विपरित सञ्चालित क्रसर उद्योगहरु वन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा मंगलवार एक युवाले निवेदन दिएका छन् । घोराही उपमाहानगरपालिका वडा नं. १३ निवासी ३७ बर्षीय प्रेम बुढाले दाङको देउखुरी क्षेत्रमा सञ्चालित २४ वटा क्रसर उद्योग मध्य प्रक्रिया विपरित सञ्चालन गरिएका उद्योगहरु बन्द गर्न माग गर्दै निवेदन दिएका हुन ।
दाङको देउखुरी क्षेत्रमा रहेका २४ वटा क्रसर उद्योग वातावरणिय मापदण्ड विपरित रहेको भन्दै निषेधाज्ञा ÷परमादेश माग गर्दै बुढाले निवेदन दिएको अधिबक्ता केशव केसीले बताए । बुढाले जिल्ला समन्वय समिति दाङ, गढवा गाउँपालिकाको कार्यालय, लमही नगरपालिका र राजपुर गाउँपालिकाको कार्यालय तथा प्रमुखलाई विपक्षी बनाई निवेदन दिएका छन् । मापदण्ड विपरित सञ्चालित क्रसर उद्योगले मानव स्वास्थ्य मात्रै नभई पशु चौपाया समेत प्रभावित तुल्याएको दाबी निवेदक बुढाले गरेका छन् ।
यसैबीच अदालतले विपक्षीलाई कारणसहित लिखित रुपमा उस्थिति हुन १५ दिने म्याद दिएको छ । निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार कानुन भए सो समेत उल्लेख गरि १५ दिन भित्र अदालतमा लिखित रुपमा उपस्थिति हुन आदेश गरेको छ । अन्तरिम आदेशको सम्वन्धमा साउन २० गते विपक्षी र निवेदक दुबैलाई अदालतले छलफलका लागि बोलाएको छ ।