काठमाडौं,साउन १३ । पूर्ब मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीमा महामन्त्री सुनिल थापा लगाएत ३१ जना मंगलवार नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवाले थापालाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन ।
नव प्रवेशीहरुलाई सभापति देउवाले सदस्ता प्रदान गरेका थिए भने बरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएर स्वागत गरेका थिए । राप्रपा छाडेर ध्यानकृष्ण भट्टराई, विष्णु थापा, बाबुराम बस्नेत, वृज यादव, दीलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुर्मान विक, राम शाह लगायत काँग्रेस पार्टीमा प्रवेश गरेका हुन ।थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन ।
राप्रपा छोडेर आएका थापालाई कांग्रेसले सहमहामन्त्री बनाउने भएको छ। थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपाबाट राजीनामा दिएका थिए।थापाले कांग्रेस प्रवेश गर्न पाउँदा हर्षित भएको बताएका छन् । २०१० सालदेखि कांग्रेससँग टुटेको सम्बन्ध फेरि जोड्न पाउँदा आफु हर्षित भएको उनले बताए । उनले दूधमा चिनी घुलेर बसेझैं आफुहरुपनि कांग्रेसभित्र मिलेर बस्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
उनले टुटेको साइनो अब राम्रोसँग जोडिने पनि बताए।