काठमाडौं,साउन ६ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भूमिका प्रति आपत्ति जनाएका छन् ।
वीपी कोइरालाको ३८ औं स्मृतिमा मंगलबार वीपी युवा नेतृत्व विकास मञ्चले काठमाडौैंमा गरेको कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री कोइरालाले पछिल्लो समय राष्ट्रपतिको तटष्थ भूमिका नरहेको बताए ।
सत्तारूढ पार्टी नेकपाभित्रको आन्तरिक विवादमा राष्ट्रपति भण्डारीले सक्रिता पूर्वक चासो देखाउनु र सक्रियता बढाउनुले राष्ट्रपति संस्थाको तटस्थ भूमिकाप्रति नै प्रश्न उठ्ने काँग्रेस महामन्त्री कोइरालाले बताए ।
‘राष्ट्रपतिका यस्तै भूमिका र क्रियाशीलताले जनतामा गणतन्त्रभन्दा राजतन्त्र नै ठीक भन्ने भ्रम पर्न थालेको छ,’ कोईरालाले भने ‘त्यो गलत नै भएपनि केही जमातले राष्ट्रपतिको सक्रियतालाई लिएर कमसेकम राजा त तटस्थ हुन्थे भन्न थालेका छन् ।’
उनले राष्ट्रपतिलाई तटस्थ बस्न र यसरी हस्तक्षेप नगर्न सुझाएका छन् । उनले भने, ‘उहाँ त राष्ट्रपति नेपालको होइन कि नेपाल कम्युनिष्ट पार्टी नेकपाको राष्ट्रपति भएर जानुभयो, यो गलत हो भन्ने मेरो धारणा हो।’
त्यस्तै उनले पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा बाहेकको अर्कौ समूहबाट सहमतिमै एक जना सभापति उठ्ने जानकारी दिए । कांग्रेसको महाधिवेशन फागुनमा गर्ने तय भइसकेको छ ।
प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार