घोराही, असार १० । घोराही उपमहानगरपालिका वडा नं. १८ को रझेना मावि क्वारेन्टिनमा बसेकाहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै आएर असार ८ गते नारावाजी गरे । महिना दिनसम्म क्वारेन्टिनमा बस्दासम्म पनि परीक्षण रिपोर्ट नआएको भन्दै असन्तुष्ट उनीहरु क्वारेन्टिनवाट निस्किएर नारावाजी गर्न आएका थिए । यहि हप्तादेखि प्रतिष्ठानमा परीक्षण मेसिन थपेर दुई वटा पुगाइएको छ । हालसम्म दाङमा स्वाब परीक्षण हुने ठाउँ प्रष्ठिान मात्रै हो ।
जहाँ दाङसहित रोल्पा, रुकुम, सल्यान, प्यूठान, बाँके, बर्दिया, बपिलवस्तु जिल्लाबाट संकलित स्वाबहरु पनि परीक्ष हुँदै आएको छ । अझैं प्रतिष्ठानमा झन्डै ३ हजार बढी स्वाब परीक्षणको लागि लाइनमा छन् । दूई वटा मेसिनवाट दैनिक एक हजारको हाराहारीमा स्वाबको परीक्षण हुने संभावना छ । तर यसअघि एउटा मेसिनले दैनिक १००देखि बढीमा ३००को हाराहारीमा मात्रै स्वाब परीक्षण गर्ने क्षमता राख्थ्यो ।
स्थानीय तहरुले आफैं किट किनेर भएर पनि ठूलो मात्रामा स्वाब संकलन गरेपनि सबैको परीक्षण एक साथ हुन सकेन । त्यही भएर प्रतिष्ठानमा लाइनमा बस्नु पर्यो ।हालसालै दूईवटा मेसिन जडान गरिएपनि आवश्यक किट अभाव भएपछि परीक्षणले गति पाउन नसकेको प्रतिष्ठान प्रशासनले बताएको छ । यसअघि पनि किट अभावले परीक्षण रोकिने अवस्थामा पुगेको थियो । प्रतिष्ठानले सरकारसंग १० हजार किट मागेको भएपनि २ हजार किट मात्रै सरकारले उपलब्ध गराएको हुँदा किट अभाव भएको जानकारी दिइएको छ ।
प्रतिष्ठानका अनुसार अबको एक दिनमात्रै परीक्षणका लागि प्रतिष्ठान संग किट उपलब्ध छ । त्यसैगरी प्रतिष्ठानमा ल्याइएका दूईवटा पिसिआर मेसिनको भुक्तानी हुन पनि बाँकी नै रहेको छ । त्यसको झन्डै एक करोड रुपैंया भुक्तानिका लागि सरकारवाट पहल नभएको प्रतिष्ठान प्रशासनले बताएको छ ।