काठमाडौं, असार ६ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको शनिवार बालुवाटारमा बसेको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।संसदमा नागरिकता विधेयक विचाराधिन रहेको बेला नेकपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली नागरिक पुरूषसँग विवाह गर्ने विदेशी महिला सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि र विदेशको नागरिकता वा त्यस्तै प्रमाणपत्र परित्याग गरेपछि मात्रै नागरिकता दिने निर्णय भएको जानकारी दिए ।
विदेशी महिलाले नागरिकता त्याग गरेको प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि मात्रै अंगिकृत नागरिकता दिन सकिने निस्कर्षमा नेकपा पुगेको सचिवालय सदस्य समेत रहेका श्रेष्ठले बताए । त्यसैगरी विवाह गरेर आएको दिनदेखि नै प्राप्त गर्न सक्ने गरी विदेशी महिलालाई आवासीय परिचयपत्र प्रदान गर्ने निर्णय पनि नेकपाले गरेको छ । सामाजिक, साँस्कृतिक, आर्थिक सम्पूर्ण अधिकारपनि विवाह गरेकै दिन उपलब्ध गराउने उस्ले निर्णय गरेको छ।