दाङ, असार ३ । कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि त्यसवाट बच्न दाङमा थप साबधानि अपनाइने भएको छ । विहीवार बेलुका ५ बजेदेखि लागू हुने गरी जिल्लाका सबै बजारहरु बन्द गर्ने निर्णय भएको छ । तर त्यो भन्दा पहिला दिनभर भने बजार तथा पसलहरु खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बुधवार विहान बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।वैठकले यही रफ्तारमा संक्रमितहरु बढ्दै गएमा नयाँ रणनीति बनाएर अगाडि बढ्ने निर्णय भएको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले बताए ।
वैठकले सवारी साधनलाई व्यवस्थित गर्न नीजि सवारी साधनहरुमा जोडबिजोड प्रणाली जिल्लाभर लागू गर्ने निर्णयपनि गरेको छ । त्यसमा मोटरसाइकलमा जोडबिजोड प्रणाली अन्तगर्त एकजना मात्र बसेर सवारी सञ्चालन गर्न पाइने छ । जिपकारहरुमा चालक सहित अन्य दुईजना बस्नेगरी जोडबिजोड प्रणाली लागू गरिएको छ । दाङमा जोड विजोड गतेका आधारमा त्यो नियम लागु हुने भएको छ ।
जिल्लामा कोरोना संक्रमितहरुको प्रभावकारी उपचार गर्नका लागि परीक्षण बिधि बढाउन दुई दिन भित्रै कम्तिमा पनि दश हजार व्यक्तिको परीक्षण गर्ने गरी व्यस्थापन गरिने , दैनिक एक हजार जति व्यक्तिको रिपोर्ट ार्वजनिक गर्नेगरी तयारी गर्ने, क्वारेनटाइनलाई थप व्यवस्थित गर्ने, संक्रमितहरुका लागि सम्बन्धित क्वारेन्टाइनमै आइसोलेसन बनाउने, सबैलाई उच्च शतर्कता अपनाउन अनुरोध गर्ने, शव व्यवस्थापनका लागि सम्बन्धित गाउँपालिकाहरुमै स्थान बनाउने निर्णय बैठकले गरेको छ । त्यसका लागि १० जना बढिको शव व्यवस्थापनमा चाहिने सामानहरु जिल्ला विपत व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय गरिएको छ ।
त्यसैगरी वर्षातको समय भएको हुँदा बाढी, पहिरोको जोखिमबाट बच्नका लागि वडावडामा सचेतना फैलाउने, तयारी कार्यलाई व्यापक बनाउने, यसका लागि प्रचारप्रसार गर्न नेपाल पत्रकार महासंघसँग समन्वय गर्ने, बजारमा व्यवसायीहरुलाई सचेत र सजग बनाउन उद्योग वाणिज्य संघ र च्याम्बरसँग समन्वय गर्ने, गाउँपालिकाहरुमा सचेतना कार्यक्रम अन्तगर्त माइकिङ गर्न सम्बन्धित गाउँपालिकासँग समन्वय गर्ने निर्णय गरेको छ ।
हाल दाङमा ५ हजार जति व्यक्तिको परीक्षण गर्न बाँकी छ । हाल ४ सयजतिको परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा हुँदै आएको छ । बैठक जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रिजालको अध्यक्षत्तामा बसेको हो । बैठकमा कोरोना संकट व्यवस्थापन समितिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुखहरु, दशवटै गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, दाङ उद्योग वाणिज्य संघ, जिल्ला च्याम्बर, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । दाङमा मंगलवार बेलुका सम्म संक्रमितको संख्या २४३ पुगेको छ ।